
९ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख डा. टेड्रोस एडहानोम गेब्रेयसयस तीन दिने नेपाल भ्रमणमा छन् । राजनीतिक भेटवार्तासँगै उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएका कामकारबाहीबारे जानकारी लिइरहेका छन् ।
शुक्रबार ललितपुरको पाटन ढोकास्थित पाटन माध्यमिक विद्यालयमा उनले टाइफाइड खोप कार्यक्रमको निरीक्षण गरे ।
त्यसक्रममा उनले हास्य कलाकार मनोज गजुरेललाई पनि भेटेका छन् । टेड्रोस नेपाल आउनुभन्दा अघिदेखि नै गजुरेललाई भेट्न चाहान्थे । कारण, गत वर्ष कोरोना भाइरस महामारीको समयमा गजुरेलले उनको क्यारिकेचर गरेका थिए । गजुरेलको बोली, शब्द उच्चारण र बोल्ने शैली पनि टेड्रोसकै जस्तो थियो ।
नेपाल आएको मौकामा उनले आफ्नो क्यारिकेचर गर्ने गजुरेललाई भेटाउन नेपालस्थित विश्वस्वास्थ्य संगठनका पदाधिकारीलाई आग्रह गरे । शुक्रबार पाटन स्कुलमा टेड्रोस खोपको निरीक्षण गरिरहेका बेला मनोज गजुरेल पनि पुगे ।
मनोजलाई देखेर टेड्रोस मुसुक्क हाँसे । अनि भने, ‘ओ मनोज.. ।’
उनीहरु दुवैले एकसाथ फोटो खिचे । तर भीडभाड र समय अभावका कारण उनीहरुले त्यतिबेला खुलेर कुरा गर्न पाएनन् । उनले केहि समयपछि भेट्ने वाचा गरे ।
केहीबेरपछि भेटेर खुलेर कुरा गरे । ‘नेपालमा मैले मेरो साथी भेटेँ । तपाईँले मलाई लिएर गर्नुभएको क्यारिकेचर एकदमै राम्रो थियो,’ गजुरेललाई देख्नासाथ टेड्रोसले भने ।
मनोजले हाँस्दै जवाफ फर्काए, ‘मेरो कामै कलाकारिता हो । हास्ने हसाउने हो ।’
टेड्रोसले उनले गरेको क्यारिकेचर हेरेको र सामाजिक सन्देश दिने खालको भएको भन्दै तारिफ गरे । ‘तपाइलाई भेट्ने इच्छा थियो । मेरो क्यारीकेचर गर्ने मान्छे कस्तो होला भन्ने लागेको थियो । नेपालमा साथी पाएँ, खुसी लाग्यो भन्नुभयो,’ टेड्रोसलाई भेटेपछि गजुरेलले अनलाइनखबरसँग भने, ‘समाजलाई सकरात्मक सन्देश दिने कुराहरु कलाकारले गरिरहनुपर्छ, भनिरहनुपर्छ भन्नुभयो ।’
टेड्रोसको क्यारिकेचरमा गजुरेलले महामारीमा एक अर्कासँग लड्नुको साटो सबै मिलेर महामारीसँग लड्नुपर्ने, हात धुनुपर्ने, घरमै बस्नुपर्ने सन्देश दिएका थिए । ‘महामारीबाट बच्नका लागि धेरैभन्दा धेरै कोरोना परीक्षण गरौं, खोप लगाऊ । अब आणविक हातहतियारको परीक्षण तथा द्वन्द्व नगरौं’ भन्ने लाइनले डा. टेड्रोसको मन छोएको रहेछ,’ भेटपछि गजुरेलले भने ।
कलाकारिताले रमाइलो मात्रै नभई समाजलाई सन्देश दिने भन्दै टेड्रोसले गजुरेललाई अगामी दिनमा कलाकारिता फस्टाउँदै जाओस भन्दै शुभकामना दिए । र भनेका छन्, ‘नेपालमा मैले मेरो साथी भेटेँ ।’ गजुरेलले पनि उपहार स्वरुप टेड्रोसलाई उनले क्यारीकेचर गरेका विश्वका नेताको तस्वीर दिएका छन् ।
डब्ल्युएचओ नेपालका सञ्चार अधिकृत सुदन ज्ञवालीका अनुसार डा. टेड्रोस आफैंले भेट्न चाहेकाले गुजुरेललाई बोलाएको बताए । ‘मेरो क्यारिकेचर गर्ने मान्छे को हो ? म भेट्न चाहन्छु भनेपछि हामीले भेट्ने वातावरण मिलाएका हौंं । गजुरेलको प्रतिभा देखेर डा. टेड्रोसले भेट्न चाहेका हुन्,’ ज्ञवालीले भने ।
प्रतिक्रिया 4