+
+

पर्सामा वीरगञ्जबाहेक अन्य पालिकामा गठबन्धनबीच तालमेल नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते ९:१६

१० वैशाख, वीरगञ्ज । पर्सामा वीरगञ्ज महानगरपालिकाबाहेक अन्य पालिकामा पाँच दलीय गठबन्धनले चुनावी तालमेल नगर्ने भएका छन् । गठबन्धन घटक दलहरुबीच कुरा नमिल्दा तालमेलको नहुने स्थिति बनेको हो ।

अन्य पालिकामा पनि गठबन्धन गरेर जान गृहकार्य सुरु भए पनि नेपाली कांग्रेस पछि हटेको थियो ।

जिल्लाका शीर्ष नेताहरूसहित बैठक बसेर कांग्रेले १४ वटै पालिकामा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको थियो । जिल्लाबाट लाद्नेभन्दा पनि तल्लो कमिटीबाट मिल्न प्रोत्साहन गर्नेर्े सहमति दलहरुबीच भएको थियो ।

पछि कांग्रेसले गठबन्धन घटक दलमध्ये जनता समाजवादी पार्टी (जसपा)सँग मात्रै बैठक बसेर पर्सामा दुवै दल ‘मित्रवत् प्रतिस्पर्धा’मा जाने निर्णय गर्‍यो ।

कांग्रेसमा स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार दिने आकांक्षी बढी देखिएका छन् । साथै ०७४ सालमा जितेको र हारेको दुवै ठाउँमा आफूले जित्ने अडकलबाजी कांग्रेसमा देखिन्छ ।

वीरगञ्ज महानगरमा केन्द्रले नै तालमेल गर्ने निर्णय गरेका कारण कांग्रेस अप्ठेरोमा परेको छ । तल्लो तहबाट तालमेल नगर्न चर्को दबाब खेपिरहेको छ ।

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले पनि अहिलेसम्म वीरगञ्ज महानगरपालिकामा मात्रै चुनावी तालमेल गर्ने बताएको छ ।

केन्द्रमा जस्तै जिल्ला र पालिकास्तरमा पनि पाँच दलीय गठबन्धनको संयोजन गर्ने जिम्मा नेपाली कांग्रेसलाई छ । नेता कार्यकर्ताहरू एक्लै निर्वाचनमा जान चाहेपछि उसले गठबन्धनलाई खासै चासो दिइरहेको छैन ।

महानगर भाग लगाउनुअघि पाँच पटकजति बैठक बसे पनि पछिल्ला दिनमा गठबन्धन आवद्ध दलहरूबीच बैठक भएको छैन ।

वीरगञ्जमा केन्द्रको निर्देशन बमोजिम चुनावी तालमेल गर्नुपर्ने बाध्यता सबै दललाई छ । तर, अन्य पालिकामा उनीहरु गठबन्धन दलहरुबीच नै मित्रवत् प्रतिस्पर्धा गर्न चाहान्छन् ।

अन्य पालिकामा गठबन्धन हुन नसक्ने गठबन्धनको संयोजक दल नेपाली कांग्रेसका पर्सा सभापति जर्नादन सिंह क्षेत्रीले बताए । ‘वीरगञ्जमा पार्टीको निर्णय मान्नै पर्ने हुन्छ, अन्य पालिकामा गठबन्धनका दल चुनाव लड्न स्वतन्त्र छन् । एक्ला एक्लै लड्ने हा’ उनले भने ‘गठबन्धन हुने भए त अहिलेसम्म बैठक भइसक्ने थियो नी सबैलाई थाहा छ हुँदैन भनेर त्यसैले कसैले चासो राखेको छैन, मैले पनि चासो दिएको छैन ।’

केन्द्रको सहमतिमा पनि अन्तिम बुँदामा सहमति भएन भने मित्रवत् प्रतिस्पर्धा गर्ने उल्लेख रहेको उनले बताए । ‘अहिले को मान्छ ? पार्टीभित्र त मिलाउन गाह्रो छ । गठबन्धन नगर्न कार्यकर्ताको दबाब बढी छ । टिकट वितरणका लागि हम्मेहम्मे छ’ उनले भने ।

जसपाका जिल्ला अध्यक्ष राम नरेश यादव वीरगञ्ज बाहेक अन्य पालिकामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने स्थिति नदेखिएको बताउँछन् । उनले तीन वटा पालिकामा कांग्रेस बाहेक गठबन्धनका अन्य दलसँग तालमेल गरेर जानेगरी तयारी भइरहेको बताए ।

पर्सागढी नगरपालिका, पटेर्वासुगौली र जिराभवानी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग वडासम्म नै तालमेलका लागि प्रयास भइरहेको उनको भनाइ छ ।

पर्सागढीमा प्रमुख र उप-प्रमुख दुवै कांग्रेसले जितेको थियो भने पटेर्वासुगौलीमा अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेस तथा जिराभवानीमा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

कांग्रेस र जसपाले गठबन्धन चाहेनन्

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने नेपाली कांग्रेस जसपाले पर्सामा गठबन्धन नचाहेको बताएका छन् ।

एमालेले जितेको ठाउँमासमेत चुनावी तालमेल गर्ने मनस्थितिमा कांग्रेस र जसपा नरहेको उनीहरूको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका केन्दि्रय सदस्य एवं पर्सा इन्चार्ज विजय महतो नेपाली कांग्रेस र जसपा सुुरुदेखि नै गठबन्धन नगर्ने मनस्थितिमा रहेको बताउँछन् ।

‘माथिको दबाब आएपछि नाम मात्रको कोरम पुर्‍याउन गठबन्धन घटक दलको बैठक राख्छन् । मैले त त्यस्तो बैठकमा नजाने निर्णय नै गरिसकेको छु’ उनले भने ‘जसपा र नेपाली कांग्रेसले छुट्टै बैठक राखेर मित्रवत् प्रतिश्पर्धा गर्ने भनेर निर्णय नै गरेका रहेछन् । पर्सामा पाँच दलबीच गठबन्धन सम्भव छैन ।’

पाँचदलीय गठबन्धन नहुने भएपछि स्थानीय स्तरमा कुरा मिल्ने दलसँग चुनावी तालमेलको प्रयास भइरहेको इन्चार्ज महतोले बताए ।

‘छिपहरमाइमा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेर जाने सहमति भइसकेको छ, पर्सागढीमा जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी तालमेलको कुरा चल्दैछ’ उनले भने, ‘विन्दवासिनीमा नेपाली कांग्रेससँग कुरा भइरहेको छ । स्थानीयस्तरमा जोसँग कुरा मिल्छ आफ्नो ढंगले प्रयास गरिरहेका छौं ।’

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बाल गोपाल थापा कांग्रेस र जसपाले गठबन्धनलाई कमजोरीको रुपमा लिएकोले गठबन्धन हुन नसकेको आरोप लगाए ।

‘प्रतिगामी शक्तिलाई परास्त गर्ने हो भने गठबन्धन गरेर निर्वाचनमा जानुपर्छ भन्ने हाम्रो भनाइ हो’ उनले भने, ‘तर कांग्रेस र जसपाले गठबन्धनलाई कमजोरीको रुपमा लिएका छन् । उनीहरू गठबन्धन गर्न चाहिरहेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?