
१० वैशाख, काठमाडौं । बसाइँसराइका कारण बिथोलिएको प्रेम र पुराना यादलाई ताजा बनाउन कल्पिएका शब्द । घुमीघुमी त्यही पुराना याद ब्युँताउने आभास अनि लय ।
‘घुमीघुमी झर्यो ओरालीको बाटो
तिमी आउनु त्यही बाटो अरु आउनु साटो
अरु आउनु साटो नि रिमई…’
प्रेमिल जोडीले छुट्टिंदा उनिएका शब्द । वियोगपछिको आशाको भाका ।
‘सुस्तै सुस्तै चढ्यो उकालीको बाटो
बोकी आउनु एकमुठी माया रित्तै आउनु साटो
रित्तै आउनु साटो नि रिमई…’
जिन्दगीमा एकपटक सबैले गर्ने मीठो अनुभूति हो प्रेम । प्रेम मान्छेसँग मात्रै हुँदैन । हुर्केको माटो, खेलेको मैदान, उकाली-ओराली गरेको बाटो, थकाइ मार्न बसेको पीपलको छहारीसँग पनि प्रेम हुन्छ ।
बाल्यकालमा बिताएका यादगार पल । खेले-कुदेका गोरेटाहरु र घुुमीघुमी स्कुल गएको बाटो । मामाघर जाँदा अढाइ दुई घण्टा उकालो चढेको आभास छ र यथार्थता छ शब्दमा । यही वास्तविकता र भोगाइलाई जीवन्त बनाएका छन्, गीतकार हर्क साउदले ।
‘प्रेमभन्दा मीठो आभास र बाल्यकालमा भोगेका पलहरुभन्दा बढी खुसी संसारका कुनै पनि चिजले दिंदैनन् । बस् महसुस गर्दा पनि आनन्द दिन्छन्,’ लेखक तथा सर्जक साउद भन्छन् ।
‘सुर्ता हो कि माया हो ज्यान झूरोझुरो भो,
सन्काइदेऊ कि बोलिदेऊ भन्देऊ के कुरो हो’
बिछोडको पीडामा ज्यान सद्दे रहेन भन्नलाई झूरोझुरो शब्द उनिएका छन् । प्रेम वियोगमा ज्यान गलिसक्यो, ज्यान आफ्नो रहेन भन्ने अर्थ लाग्छ ।
सामान्यतया अरुले गीतमा राख्न नसकेका र प्रयोग नगरेका शब्द खेलाउन माहिर छन्, साउद ।
‘जुन हो कि घाम हो दिनरातै सताउने
मनले हो कि ओठले हो तिम्रै नाम रटाउने ।
न घाम पर्दा मन शान्त हुन्छ न टहकिलो जुन पर्दा । ओठ र मनले हरपल मुटुमा बसेको मान्छेको नाम जप्छ ।
‘कपालैको लाउनु पर्दा हातले छोप्नु साटो,
हातले छोप्नु साटो नि रिमई हातले छोप्नु साटो ।
शिरमा लाउनु छड्के टोपी बुलबुलीको साटो,
बुलबुलीको साटो नि रिमई…’
मुटुमा प्रेम पलाएका र मन साटेकाहरु छुट्टिएर बाँच्नुपर्दाको र गाउँ नै छाडेर जाँदा भोगेको पीडा र वियोगलाई भावना मार्फत बगाइएको छ ।
‘सुनाइदिउँ कि लेखिदिउँ नाम तिम्रो बाँसै कोरेर
चढाउँला देउराली माई फूलपाती सोरेर
हाँसो हो कि बोली हो झन् नजिक नजिक सराउने
आँखैले कि मुटुले अचाक्ली मन पराउने ।
प्रेम मीठो अनुभूति हो । पहिले पहिले आफ्नो प्रेम अमर अजर हुने भन्दै काठ वा पातमा प्रेमिल जोडीले नाम लेख्ने गर्थे । साउदले गरिरहेकै कामलाई शब्दमार्फत संगीतमा उतारे ।
‘अरु सबै भुल्न सकिन्छ बाल्यकालमा भोगेका तीतामीठा पल र प्रेमले कहिल्यै छाड्दैनन्, ती पलले कहिल्यै छाड्दैनन्,’ साउद सुनाउँछन् ।
‘यादै आए पुग्ने पो रैछ भोक निन्द्राको साटो,
भोक निन्द्राको साटो नि रिमई भोक निन्द्राको साटो…
तिम्रै माया चलि नै रने ढुकढुकी चल्नु साटो
ढुकढुकी चल्नु साटो नि रिमई….’
प्रेमका अघि संसार फिका लाग्छ । प्रेममा भोक निन्द्रा चैन सबै हराउँछ । बस मन मुटुमा उही हुन्छ, जसलाई अथाह प्रेम गरिन्छ । यही भावना छल्किएको छ ‘घुमीघुमी’मा ।
प्रेम गरेको मान्छे गाउँ नै छाडेर बसाइँ सर्दैछ । बसाइँ सरेकी प्रेमिका मात्रै होइन उनीसँगै प्रेमीको मन पनि बसाइँ सरेको छ । गाउँ नै छाड्दा प्रेमिका आँशु झरेका छन् । आँशु मात्रै होइन आँशुसँगै दुःख झरेका छन् ।
उसको छाती रित्तो भएको छ । उसले आफ्नो शिरफूललाई डाँडै काट्न देखेको छ । ऊ विरत्तिएको छ । प्रेमीलाई गुमाएपनि उसले प्रेम गुमाएको छैन । प्रेमिका बस्ने घर श्रृङ्गारेर बस्छ । जुन घरको औधी माया लाग्छ । उसको न्यास्रो मेटाउने त्यही घर बाँकी छ । घरसँग उसका याद जोडिएका हुन्छन् । जसलाई ऊ जिन्दगीभर संगालेर राख्न चाहन्छ ।
‘बालापनमा स्कुल जाँदा पार गरेको उकालो, झरेको ओरालो र ती घुम्ती अझै पनि मन मस्तिष्कमा डेरा जमाएर बसेका छन् । ती स-साना कुरालाई नै शब्दमार्फत बाहिर ल्याएको हुँ,’ साउद भन्छन् ।
‘चलिरह्यो सासै हजुर त्यही छातीमा बासै भो
घुमिरह्यो घडी पला पलाइरह्यो आशै त्यो
‘उडी आयो बादलु त बर्सिएर पानी
पर्खि आयो परान हजुर बाँच्यो जिन्दगानी ।
सास चलेपनि मनको बास अरुकै मनमा छ, जो आफ्नो मनमा बसेको छ । समय घुर्किरह्यो तर एक हुने आश मरेन । घडी आउनु भन्दा पहिले सूर्य हेरेर मान्छे समयको आँकलन गर्थे । यसै यथार्थलाई शब्दमार्फत जीवन दिए साउदले ।
‘प्रेमिकाले गाउँ छाडेर जाँदा पनि प्रेमीले ऊ बस्ने घरसमेत स्याहारेर राख्छ । श्रृङ्गार गरेर जतन गर्छ । सर्जक साउद भन्छन्, ‘भावना अमर अजर हुन्छन् र भावना टुट्दा पलपल मर्छ मान्छे ।’
गीतले दुई जनाबीच प्रेम अंकुराउनेदेखि गाउँ नै छाडेर जानेसम्मको कथा भनेको छ । गीतमा शब्द मात्रै होइन, स्वर र संगीत पनि उत्तिकै एकनासले बगाइएको छ । साउद भन्छन्, ‘गीतमा मैले बाल्यकालमा बिताएका लालित्य भावना समेटिएका छन् ।’
गीतलाई गायक सुजन चापागाईं र गायिका शान्तिश्री परियारले आफ्नो स्वरमा जीवन्त बनाएका छन् । अभिनेता विपिन कार्कीको उम्दा अभिनयले गीतको भिडियोलाई उत्कृष्ट बनाएको छ । त्यसमा कलाकार अन्जना बराइलीको साथ उत्तिकै छ ।
लोकलयमा प्रचलनमै रहेका शब्द प्रयोग गरिएको गीतका विषयमा हर्क थप्छन्, ‘मेरो घर उचो पहाडमा मामाको घर बेंसीमा छ । मामाघरबाट मेरो घर आउने बाटो सम्झेर गीत लेखेको हुँ, गीतका हरेक घुम्ती त्यो चौतारो सबै उतैका सम्झनाका पोका हुन् । त्यही बाटो मैले वर्षौं हिंडें र आफूले मन पराएको मान्छे हिंड्यो ।’
चौतारीमा बसेर मायाका यादहरु कल्पिंदा कसैले आएर मोह भंग नगरोस्, बस् मनभित्र बसेको मान्छे नै त्यो बाटो हुँदै मेरो मनसम्म पुगोस् । आफूले अनुभूत गरेका यस्तै कल्पना र सम्झनालाई गीतका शब्दमा कोरेको उनी सुनाउँछन् ।
‘चलिरह्यो सासै हजुर त्यही छातीमा बासै भो
घुमिरह्यो घडी पला पलाइरह्यो आशै त्यो
उडी आयो बादलु त बर्सिएर पानी
पर्खि आयो परान हजुर बाँच्यो जिन्दगानी’
साउदको घरमा बाक्लो कुहिरो लाग्छ । जसले नजिकै रहेको मान्छेसमेत देखिंदैन । कर्णाली क्षेत्रबाट आएको कुहिरो बेगका साथ आफ्नै गतिमा दौडिरहन्छ । यो दृश्यसमेत उनको शब्दमा उतारेका छन् ।
घुमीघुमीमा प्रेमको सामीप्य, वियोगदेखि पुनर्मिलनसम्मको कथा देखाइएको छ । ‘लोप हुन लागेका, समाज तथा सर्वसाधारणले नजरअन्दाज गरिरहेका शब्दलाई बाहिर ल्याएको हुँ । ती नजरअन्दाज गरिएका शब्दहरु बाल्यकाल र लालित्य भावनाहरुसँग जोडिएका छन्,’ उनले सुनाए ।
कसरी फुर्यो ‘घुमीघुमी’ ?
विश्वव्यापी कोरोना महामारीले नेपाल पनि आक्रान्त थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले दोस्रो पटक लकडाउन गरेको थियो । हर्क साउद घरमै बसिरहेका थिए ।
एक दिन राति १०-११ बजेतिर गायक तथा संगीतकार सुजन चापागाईंले सानो ट्युन पठाए । हर्कलाई ट्युन मन पर्यो । सुजनको ट्युनमा मन्त्रमुग्ध भएका हर्कको मनमा बाल्यकालमा आफूले बिताएका पलहरु नाच्न थाले ।
उनको मन दौडिएर जन्मथलो डोटी पुग्यो । र, उनी शब्द कोर्न थाले । ‘गाउँमा आफूले भोगेका कुरा नै गीतमा उतारेको हुँ,’ उनी भन्छन्, ‘गीत भन्दा मेरो मन उडेर लोकलयमा गइहाल्छ मन उडेर गाउँ पुगिहाल्छ ।’
‘घुमीघुमी’ करिब १४-१५ पटकसम्म पुनर्लेखन गरेका छन् हर्कले । लोकभाका टिपेर संगीत भरिएको गीतको भिडियोमा भक्ते र सरुको निःस्वार्थ प्रेम देखाइएको छ । गाउँले परिवेशमा कैद गरिएको उक्त भिडियो र शब्द स्रोता-दर्शकको मन मस्तिष्कमा बस्न सफल भएका छन् ।
हर्कले रचेका हरेक गीत एकअर्काभन्दा पृथक छन् । लोकका तर पछिल्लो समय धेरैले प्रयोगमा नल्याएका शब्दलाई टिपेर उनी गीत लेख्छन् । उनका हरेक गीतले श्रोताको मन मस्तिष्क छोएका छन्, जिब्रोमा झण्डिएका छन् ।
‘सुन साइँली’ टर्निङ प्वाइन्ट
हर्कको गीति लेखन यात्रा ‘सुन साइँली’बाट सुरु भएको हो । पहिलो गीतले यति धेरै चर्चा पायो कि त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।
त्यसपछि उनले फिल्म ‘प्रेम गीत ३’को हात्ती ढुंगामा, ‘क्याप्टेन’को कर्लीकर्ली कपाल, ‘साइँली’को नाच माया, प्याटप्याटे चप्पल, दुबो फुल्यो, बटौली, तीनपाते, के माया लाग्छ र ? जस्ता गीत लेखे । ती सबै गीत हिट भए ।
तपाईंका एक से एक गीत हिट हुँदै गइरहेका छन् कारण के हो ? भन्ने प्रश्नमा हर्क भन्छन्, ‘गीत भन्ने बित्तिकै मेरो मन लोकलयमा जान्छ । पहिले प्रयोग हुने, तर अहिले प्रचलनमा नरहेका शब्दलाई गीत मार्फत जीवन्त बनाउने प्रयास गर्छु । त्यसमा संगीतको पनि उत्तिकैमहत्वपूर्ण भूमिका हुन्छ ।’
हरेक गीतमा फरक-फरक मुद्दालाई लिएर शब्द कोर्छन् हर्क । ‘साइँली’मा वैदेशिक रोजगारीको समस्या देखाए, बाफमा सीमाको समस्यालाई देखाएर नेपाली र भारतीयबीचको प्रेम देखाए ।
‘नेपाली साहित्य, गीत, गजल र संगीतको आफ्नै लय र महत्व छ । अंग्रेजी भाषा नेपाली भाषाको मानक हुन सक्दैन,’ उनी भन्छन्, ‘गीतका शब्दमा मौलिक भाषा-संस्कृति र लवज मिसाए संगीत फरक हुनुका साथै मौलिकता जोगिन्छ ।’
कुन गीत कसरी फुर्यो ?
साइँली
नेपालमा बेरोजगारीको समस्या व्याप्त छ । हरेक घरबाट एक जना वैदेशिक रोजगारीमा गएका छन् । बेरोजगारीको समस्याले गाउँघरका युवाका सपना भताभुंग बनाएको छ । घरपरिवारसँग रमाउने चाहना हुँदाहुँदै उनीहरु विदेशमा रगत-पसिना बेच्न बाध्य छन् ।
युवाको आधा उमेर कमाउने आशमा खाडीमै बित्छ । एकातिर युवा खाडीमा पसिना बेच्छन् । अर्कातिर घरपरिवार उनीहरुको आशमा पर्खिरहेका हुन्छन् ।
चालीस कटेसी रमाउँला, निधारमा नाम्लो बरियो, कुलोमा पानी कलल, गाउँघरको तस्वीर झलल, दियोमा तेलै हुरुरु, पिंढीमा जाँतो घरर जस्ता मौलिक शब्द उनेका छन्, हर्कले ‘सुन साइँली’ गीतमा । साइँलीका शब्द लेखेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन ।
एकदिन बागबजारमा संगीतकार कालीप्रसाद बास्कोटाले हर्कलाई एक धुन सुनाए । धुन सुनाउँदै कालीप्रसादले उनलाई शब्द लेख्न आग्रह गरे । र, धुनमा मन्त्रमुग्ध भएका हर्कले लेखे, सुन साइँली ।
‘बेरोजगारीको पीडाले साइँला-साइँली गाउँमा भेटिंदैनन् । बाध्यताले विदेशिनु परेपनि उनीहरुको आत्मा घरमै हुन्छ । घरपरिवार र काम खोज्न विदेश गएकाहरुको पीडा देखाउन साइँली लेखेको हुँ’ हर्क सुनाउँछन् ।
बटौली
बुटवलतिर पहिला पहिला बाल विवाह हुन्थ्यो । बाल विवाह गरेपनि केटाकेटी आ-आफ्नै घर बस्थे । सानैमा विवाह गरेपनि उनीहरु उमेर पुगेपछि मात्रै सँगै बस्न थाल्थे । निश्चित उमेरपछि मात्रै बेहुला बेहुली लिन जान्थे । यही यथार्थलाई हर्कले गीतमा उतारेका हुन् ।
गीतमा हेरौली ऐनामा कपाल कोरौली, कम्मर कसौली, मकै भुट्या हाँडीमा, मोही हाल्या बुड्कोमा, झोलैभरि कोसेली, शिरबन्दी र भुल्का भुल्का जस्ता शब्द प्रयोग गरिएका छन् । सानैमा बिहे गरेको मान्छेलाई उमेर पुगेपछि लिन जाँदा मनमा कौतुहलता हुन्छ । उनीहरु एक अर्कालाई देख्न आतुर हुन्छन् । वर्षौंदेखि उनीहरु एक हुन पर्खिरहेका हुन्छन् ।
गीतमा केटा-केटीको लजालु स्वभाव, श्रृङ्गारिक रसका साथै उनीहरुको चञ्चलता र भावना देखाइएको छ । ‘सानैमा विवाह गरेपनि वर्षौंपछि श्रीमान लिन आउँदाको खुसी र भावभङ्गी देखाउन खोजिएको हो,’ साउदले भने ।
तीनपाते
‘देखेर तिमीलाई हेरेर तिमीलाई, मनै मनमा माया तीनपाते भइदियो’
सुजन चापागाईं र विद्या तिवारीको स्वर रहेको यो गीत निकै लोकप्रिय छ । तीनपातेमा एक सामान्य किसान परिवारको गाउँको कथा देखाइएको छ । जसमा बुवाको पालादेखि उनीहरु छुर्पी बनाउने काम गर्नुका साथै डेरीको काम गर्छन् ।
बुवाको सानो नौनी र छुर्पी बनाउने व्यावसायलाई छोराले विस्तार गर्दै जान्छ । डेरीमा अन्यलाई रोजगारी दिन्छ र स्वदेशी उत्पादन विदेशमा निर्यात गर्छ ।
‘बासै काटी चोया, चोया खिपी डोको
तिमीसँगै घामछाँया हुने मनको धोको ।
शिरफूल शिरैमा लाउला कसरी
नौगेडी गलैमा लाउला कसरी’
गीतमा हर्कले शिरफूल, डोको, नौगेडी जस्ता मौलिक शब्दको प्रयोग गरेका छन् । जसले गीतमा थप मिठास भर्ने काम गरेको छ ।
‘आफैं मुस्काऊ मुसुक्क जूनतारा टिपी कोही दिंदैन
थोपाथोपा मिली बग्छ खोला सागरको कुनै मुहान हुँदैन’
यी शब्दमा भावनाका साथै सपना समेटिएका छन् । खुसी आफैंले खोज्नुपर्छ, अरुले खोजेर दिंदैनन् । यसमार्फत उनले जीवनसंघर्ष दर्शाउन खोजेका छन् ।
‘आऊ समाऊ यी नाडी मेरा
तिम्रै नाम दिनरात चल्छ
उठाऊ यी मेरा नजरका घुम्टोहरु
तिम्रै मुहार हेर्न चञ्चल छन्’
प्रेममा संसार अडिएको छ । भावनाको कुनै सीमा हुँदैन । यही असीमित प्रेम कोरिएको छ तीनपातेमा । मुटु, धड्कनमा मात्रै होइन नाडीमा समेत रगत नभई प्रेम बग्छ भनिएको छ ।
हर्क भन्छन्, ‘तीनपातेमा युवाको संघर्ष र संघर्षको प्रतिफल देखाइएको छ । समाजमा सकरात्मक सन्देश दिन यो गीत लेखिएको हो ।’
के माया लाग्छ र ?
गणेश सेन्चुरीको ‘लुकीछिपी’ भिडियोका फोटो हेरेपछि लेखेका हुन्, हर्क साउदले ‘के माया लाग्छ र ?’
गीतमा हुरहुरी, गुटुङटुङ, उखुमै जस्ता शब्द प्रयोग गरिएको छ । साउदका अनुसार हुरहुरी, गुटुङटुङ, उखुमै शब्द लोकलयमा भिजेका शब्द हुन् । तर अहिले यी शब्द लोप हुने अवस्थामा छन् ।
‘पाँचथरमा सुटिङ गरिएको लुकिछिपीको फुटेज हेरेपछि के माया लाग्छ र ? लेखेको हुँ,’ हर्क भन्छन्, ‘पूर्व पश्चिम जहाँको भएपनि नेपालको लोकलय र लोकजीवन एउटै हो ।’
‘के माया लाग्छ र ?
उखुमै लाग्छ नि
मेरो याद आउँछ र ?
हुरहुरी आउँछ नि
के लैजान्छौ सँगैमा ?
गुटुङटुङ भगाई
राख्छौं कि त सँगैमा ?
पाखुरीमा समाई
हुरहुरी, गुटुङटुङ र उखुमै शब्दसँग नजिकको साइनो छ, हर्कको । उनको घर डोटीमा कर्णालीबाट निकै बेगसाथ बाक्लो कुहिरो आउँछ । खोलैखोला आएपछि हुरहुरी डाँडा उक्लिन्छ । त्यसैलाई मनमा राखेर हुरहुरी शब्द कोरेका हुन उनले ।
स्कुल जाँदा उकालो ओरालो झर्नु पर्थ्यो । बिहान घरको काम गरेर स्कुल जाँदा जहिल्यै हतार हुन्थ्यो । र, हर्क दुगुरेर गुटुङटुङ गर्दै स्कुल पुग्थे ।
‘गीतमा अधिकांश शब्द आफूले भोगेका महसुस गरेका हुन्छन् । गीत लेख्दा आफूलाई त्यहाँ उपस्थित गराउनुपर्छ । मैले प्रयोगमै रहेका र भोगेका, सुनेका शब्दलाई प्राथमिकता दिन्छु,’ उनी भन्छन् ।
बाफ
‘बाफ’ गीतमा हर्कले सीमा र माटोका साथै प्रेमको कुरा गरेका छन् । वारि नेपाल पारि भारत छ । सीमासँग प्रेम पनि जोडिएको छ । उनले सीमामा हुने तस्करी र चेक जाँचका साथै सीमाले प्रेम र जीवनमा पार्ने प्रभावलाई गीतमा उतारेका छन् ।
‘मान्छेको आफ्नो माटो र नागरिकतासँग अगाध प्रेम हुन्छ, जसलाई प्रेमले पनि छुटाउन सक्दैन् । यही यथार्थलाई शब्दमा उतारेको हुँ,’ हर्क सुनाउँछन् । गीतमा फुस्सै उडे, बाफ भई, फनफन्ती, सिलबन्दी, लाहाछाप लगायत शब्दको प्रयोग गरिएको छ ।
‘तिम्रै दायाँ तिम्रै बायाँ
ज्यान घुम्छ फनफन्ती
झ्याप्पै ठोकी लाहाछाप मायालाई सिलबन्दी’
साउदले फिल्म ‘कबड्डी-३’को ‘दुबो फुल्यो’ गीत लेख्दा कतिपयले दुबो पनि फुल्छ र भन्दै प्रश्न गरेका थिए । तर यथार्थमा दुबो निश्चित समयपछि फुल्छ ।
‘दुबो फुल्यो गीत लेखेपछि कतिपयले दुबो पनि फुल्छ र भन्दै प्रश्न गरे । दुबो फुलेको नदेखेको भए किन गीत लेख्थे र ? फुलेको दुबो देख्न त दुबो फुल्ने ठाउँमा जन्मिनुपर्छ,’ हर्क प्रष्ट पार्छन् । ‘क्लिष्ट’भन्दा लोकबोलीमा भिजेका शब्दप्रति आकर्षित हुनुमा हर्कको हुर्काइको महत्वपूणर् भूमिका छ ।
बाल्यकालमा सुनेका शब्द, गाएका भाका उनको मनमा गडेर बसेका छन् । जसलाई उनी अहिले बाहिर ल्याउँदै छन् । उनको शब्द शिल्प ‘साइँली’देखि नै छाँटिएको थियो ।
संगीतका अलावा हर्क बागबजारस्थित आफ्नो क्याफेमा खटिन्छन् । उनले आराधना क्याफे सञ्चालन गरिरहेका छन् ।
२०५५ सालमा कलेज पढ्ने र सरकारी सेवा प्रवेश गर्ने लक्ष्य बोकेर सुदूरपश्चिमको डोटीबाट उनी काठमाडौं हान्निएका थिए । पढाइका साथै उनले लोकसेवाको परीक्षा दिए । तर सफल भएनन् । सरकारी सेवा प्रवेश गर्ने रहर मरेपनि संगीतको रहर ब्युँतियो ।
अहिले हर्क संगीत क्षेत्रका फरक र अब्बल क्षमता भएका सर्जक बनेका छन् । जसको गीतमा ठेट र झर्रा शब्दले राज गर्छन् ।
प्रतिक्रिया 4