
१० वैशाख, काठमाडौं । ६ वटा महानगरपालिकासहित १० वटा स्थानीय तहमा उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ ।
निर्वाचन आयोगले काठमाडौं, ललितपुर, विराटनगर, पोखरा, भरतपुर र वीरगञ्ज महानगरपालिका र भक्तपुरका चारवटा नगरपालिकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्ने निर्णय गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अरु स्थानीय तहमा उम्मेदवारको अन्तिम टुंगो लागेपछि मात्रै मतपत्र छाप्ने चाहना भए पनि समय अभावका कारण सम्भव हुन नसकेको बताए ।
‘हामीले मतपत्र छपाई र ढुवानी गर्नुपर्ने अवधि हेरेर मतपत्रको डिजाइन गरिरहेका छौं’ शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले भने, ‘यातायातको असुविधा भएको ठाउँमा वैशाख १९ गतेभित्र मतपत्र पठाउनुपर्छ । २१ वा २२ गते मतदान अधिकृतकोमा मतपत्रहरु पुग्नुपर्छ । ढिलोमा पनि वैशाख २६ गते निर्वाचन गराउने टिम त्यहाँ पुग्नुपर्छ ।’
आयोगको यो निर्णय अनुसार ६ महानगरपालिका र भक्तपुरका चार नगरपालिकामा राष्ट्रिय दलहरुले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, त्यही पदमा मात्र चुनाव चिह्न रहन्छ, उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न रहँदैन ।
कतिपय ठाउँमा मतदानस्थलसम्म मतपत्र पुर्याउन तीन दिनसम्म लाग्ने भएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मतपत्र छाप्न सम्भव नभएकाले अहिले नै मतपत्र छापिएको उनले बताए । प्रमुख आयुक्त थपलियाले भने, ‘प्राविधिक र व्यवहारिक रुपमा सबै उम्मेदवारको निधो भएपछि मतपत्र छापेर दिने भन्ने असम्भव छ । त्यसैले अहिलेदेखि मतपत्र छापेका हौं ।’
अघिल्लो स्थानीय तहमा १० प्रकारका मतपत्र छापेकोमा यसपटक ८७ प्रकारका मतपत्र छापेको उनले बताए । उनका अनुसार, ७७ जिल्लाका ७७ प्रकारका, भक्तपुरमा ४ र देशभरका ६ महानगरपालिकामा ६ प्रकारका गरी ८७ प्रकारका मतपत्र प्रकाशित हुने उनले बताए ।
मतपत्र छपाइसम्बन्धी निर्णय एक महिनाअघि नै गरेको प्रमुख आयुक्त थपलियाले बताए । ११ दिनको अवधिमा देशभरका ६ हजार ७४३ वडामा फरकफरक प्रकारका मतपत्र प्रकाशित गर्न सम्भव नहुने उनले बताए । ‘सबैभन्दा उपयुक्त र राम्रो समाधान ई–भोटिङ नै हो’ उनले भने, ‘कुनै प्रश्न नआउने गरी इ– भोटिङमा जाने तयारी गरौं । आयोग त्यसका निम्ति तयार छ ।’
प्रतिक्रिया 4