+

पीवाइसी बीबीए कप क्रिकटको तयारी पूरा

२०७९ वैशाख  १० गते १९:११ २०७९ वैशाख १० गते १९:११
पीवाइसी बीबीए कप क्रिकटको तयारी पूरा

१० बैशाख, काठमाडौं । पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाख १३ गतेदेखि काठमाडौंमा आयोजना हुने ‘पीवाइसी बीबीए क्रिकेट कप’ टी–२० प्रतियोगिताको तयारी पूरा भएको छ । शनिबार चावहिलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी पूरा भएको जनाएको हो ।

नकआउट फर्म्याटको प्रतियोगितामा कुल १८ टोलिले प्रतिस्पर्धा गर्दैछन् । खेलहरु मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

शनिबार नै प्रतियोगिताको टाई–सिट ड्र सार्वजनिक गरिएको छ । सहभागी टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ ।

जसमध्ये उपत्यका बाहिरका टोलीमध्ये ड्र मार्फत दुई टोली वीरेन्द्र क्याम्पस बहुमुखी चितवन र महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जले बाई पाएर सोझै प्री–क्वार्टरफाइनल प्रवेश पाएका छन् ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियनले आगामी संस्करण आयोजना गर्नुपर्ने प्रावधान अनुरुप पब्लिक युथले यस संस्करण सञ्चालन गर्ने जिम्मा पाएको हो ।

कलेज स्तरको क्रिकेट प्रवर्द्धन तथा खेलभावना विकास गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिताको प्रबन्ध निर्देशक सुनील थापाले जानकारी गराए । ‘लामो समय देखि आयोजना हुँदै आएको बीबीए कप पुनः यो वर्ष निरन्तरता पाउँदैछ । प्रतियोगिताको उद्देश्य युवाहरुलाई मञ्च प्रदान गरी उनीहरुको सामूहिक भावना, सम्बन्ध र खेलभावना विकास गर्दै नेतृत्व क्षमता अभिवृद्धि गर्नु हो ।’

पव्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले यस अघिका संस्करणहरु जस्तै यसपटक पनि त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई साथ दिने विश्वास व्यक्त गर्दै कलेजहरुलाई प्रतिष्ठित प्रतियोगितामा भाग लिन आग्रह समेत गरेका छन् ।

बिगत एक दशकदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितालाई यस पटक ‘म्यान क्यान डु’ प्रालिले व्यवस्थापन गर्नेछ ।

प्रतियोगिताको विजेताले ८५ हजार रुपैयाँ तथा उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै बिभिन्न विधामा उत्कृष्ट चुनिने खेलाडीहरु तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय