
१० वैशाख, चितवन । चितवनमा नेपाली कांग्रेसको एक समूहले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको छ ।
कांग्रेसको जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा शनिबार भएको भेलाले मेयरमा उम्मेदवारी दिने निष्कर्ष निकालेको तरुण दल चितवनका पूर्वअध्यक्षसमेत रहेका नेता शम्भु अर्यालले जानकारी दिए ।
‘कांग्रेसबाट मेयरमा उम्मेदवारी कायम रहनुपर्छ भन्ने निष्र्कषमा पुगेका छौं ‘नेता अर्यालले भने, ‘पार्टी जोगाउन र कार्यकर्ताको भावनाको सम्मान गर्न पछाडि पर्ने कुरा भएन ।’
उनले कांग्रेस केन्द्रले अझै पनि निर्णय सच्चाएर भरतपुरमा कांग्रेसकै उम्मेदवार खडा गर्नुपर्ने माग आफूहरुको कायमै रहेको बताए । उनले केन्द्रले मेयरको उम्मेदवार नतोके जिल्लाबाट नै सर्वसम्मतिमा मेयर पदमा उम्मेदवारी रहने जानकारी दिए । भरतपुर महानगरको मेयरमा कांग्रेसबाट पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद जगन्नाथ पौडेल, शम्भु अर्याल लगायतको चर्चा छ ।
पार्टीले गर्न सक्ने सम्भावित कारवाहीको कुनै चिन्ता नभएको अर्यालको भनाइ छ । कांग्रेसका नेता एवम् अधिवक्ता उद्धव लोहनीले चितवनका कांग्रेस जोगाउन यसपटक जोखिमपूर्ण भए पनि निर्णय लिइने बताए ।
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवार कायम हुने भएपछि कांग्रेसको एक पक्ष असन्तुष्ट छ ।
प्रतिक्रिया 4