
१० वैशाख, धनगढी । सुदूरपश्चिम स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा सत्तारुढ दलहरुबीच भागबण्डा गर्न बसेको बैठक बिना निष्कर्ष सकिएको छ ।
कैलाली, कञ्चनपुर, डोटी र अछामका स्थानीय तहको भागबण्डाको विषयमा अन्तिमसम्म सहमतिको प्रयास गर्ने भन्दै शनिबार धनगढीमा बसेको बैठक बिना निष्कर्ष सकिएको छ ।
नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रम शाहीले शनिबारको बैठकमा कैलालीको स्थानीय तहको भागबण्डा बाहेक अन्य ठाउँको विषयमा छलफल नभएको बताए ।
‘नेपाली कांग्रेस र माओवादी केन्द्रले हामीसँग सल्लाह नगरेर भागबण्डाको विषयमा म्याइन्युट गर्नुभएको थियो,’ शाहीले अनलाइनखबरसँग भने, ‘तर हामीसँग सल्लाह नगरी गरिएको निर्णयमा हस्ताक्षर गर्दैनौं भनेपछि पुनः छलफल गर्ने कुरा भएको छ ।’
उनले गठबन्धनको बैठकले कैलालीसहित भागबण्डा टुङ्ग्याउन बाँकी रहेका कञ्चनपुर, डोटी र अछामको समेत निर्णय गर्नूपर्नेमा माओवादी केन्द्र र कांग्रेसले कैलालीको हकमा मात्र निर्णय गरेकाले त्यसमा सहमति नजनाइएको बताए ।
बैठकमा नेपाली कांग्रेसले कैलालीका १३ मध्ये ७ पालिका कांग्रेस, ४ माओवादी केन्द्र र २ वटा पालिका एकीकृत समाजवादी पार्टीलाई दिनेगरी प्रस्ताव प्रस्तुत गरेको थियो । उक्त प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाएको नेताहरुको भनाइ छ ।
तर माओवादी केन्द्र कैलालीका संयोजक लाजुुराम चौधरीले भने भागबण्डाको विषयमा बैठकमा छलफल भएपनि सहमति हुन नसकेको बताए । कांग्रेस सुदूरपश्चिमकी सहमहामन्त्री अम्बिका चलाउनेले भागबण्डा गर्न बाँकी रहेका सबै स्थानीय तह र वडाहरुमा एकमुष्ट निर्णय गर्ने सैद्धान्तिक सहमति भएकाले सबै कुुरा टुङ्गिएपछि मात्र विज्ञप्ति जारी गरिने बताइन् ।
निर्वाचन आयोगले वैशाख १२ गतेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्ने समय तोकेका कारण अन्तिम समयसम्म पनि सहमति जुटाउने प्रयास गर्न फेरि पनि बैठक बस्ने सहमति गठबन्धनका नेताहरुले गरेका छन् । दलहरुबीच सहमति नभएको अवस्थामा भने ‘मित्रवत् प्रतिस्पर्धा’ गरेर निर्वाचनमा जाने तयारी भइरहेको छ ।
प्रतिक्रिया 4