
१० वैशाख, काठमाडौं । नेकपा एमालेले पोखरा महानरपालिकाको प्रमुखमा दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई उम्मेदवार बनाएको हो । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् ।
पौडेल लामो समयदेखि शिक्षक आन्दोलनमा आबद्ध थिए । पोखरा महानरपालिका १९ पुरनचौरका पौडेल एमाले अध्यक्ष केप शर्मा ओलीसँग निकट मानिन्छन् ।
तर उम्मेदवार बन्न नेताहरुबीच हानथाप चलिरहेका बेला एमालेको प्रदेश कमिटी सदस्य रहेका पौडलबारे त्यतिधेरै चर्चा थिएन ।
पोखरामा मेयर पदमा १२ जना र उपप्रमुखमा ११ जनाले नाम दर्ता गरेका थिए । जसमा २ जना प्रदेश सभा सांसदसहित वडाध्यक्षसमेत मेयर आकांक्षी थिए ।
मेयरका लागि पौडेलसहित प्रदेश सभासदस्यद्वय कृष्णबहादुर थापा र राजीव पहारीसहित भीम कार्की, मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मी आचार्य, प्राडा विश्वकल्याण पराजुली, दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी थिए ।
एमालेले पोखरा महानगरपालिकाको उपमयेरमा मन्जु गुरुङलाई नै दोहोर्याउने निर्णय गरेको छ ।
उनले उपमेयरमा दाबी नै गरेकी थिइनन् । उपप्रमुखमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाले नाम टिपाएका थिए । तर एमालेले मन्जुलाई नै टिकट दिएको छ ।
प्रतिक्रिया 4