
११ वैशाख, पोखरा । पोखरामा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले उपमेयर पद अस्वीकार गरेकी छन् । आफूले कुनै पदमा आकांक्षा नराखेको र उम्मेद्वार बनाउँदासमेत आफूलाई नसोधेको उनको भनाइ छ
पार्टीले अझैसम्म आधिकारिक रुपमा जानकारी नदिएको र दिइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताएकी छन् । उनी भन्छिन्, ‘मेयरमा पनि दाबी नगरेको मान्छे, उपमेयरमा फेरि उठ्ने सोच छैन ।’
उनी २०७४ सालको स्थानीय तह चुनावमा उपमेयर निर्वाचित भएकी थिइन् ।
केन्द्रीय सदस्यसमेत रहेकी गुरुङलाई उपमेयर र प्रदेश सचिवालय सदस्य रहेका दीपक पौडेललाई मेयरमा उम्मेदवार बनाउने पार्टी निर्णयप्रति कास्कीका एमाले नेता नै असन्तुष्ट देखिएको छन् ।
मेयर पदका लागि एमालेबाट १२ जनाले आन्तरिक उम्मेदवारी दिएका थिए । दुई गुटमा विभाजित भएर विवाद बढ्ने भएपछि साझा रुपमा मञ्जुदेवीलाई मेयरको उम्मेदवार बनाउने एमाले वृत्तमा चर्चा चलेको थियो ।
मेयरमा दाबेदारका रुपमा हेरिएको भए पनि अन्तिम समयमा उनले आन्तरिक उम्मेदवारीसमेत दिएकी थिइनन् । अनलाइनखबरसँग प्रतिक्रिया दिंदै उनले आफू मेयर दौडमा ‘नअटाइएको’ प्रतिक्रिया दिएकी थिइन् ।
प्रतिक्रिया 4