
मन खिन्न,
छिन्नभिन्न हुँदा
पनि आँशु लुकाउन सिपालु
यी हजुरका आँखा
सधैं पर्खाल बनिरहुन्
ताकि तपाईंको दुःख कसैले देख्न नसकोस् ।
जन्मदिन मनाउँदा
घरबाट टाढा भई रमाउँदा,
कमाउँदाका बयानहरु,
बदलिउन् सधैंभरि
ताकि जीवनको नूतन स्वाद प्राप्त होस् घरिघरि ।
लकरबाट
पाँच, दश र बीसका नोटहरु
निकाल्दै चलेको यो जीवन
नोटहरुझैं दिनहरू
कहिल्यै मासिन नपरोस्
दिव्यताको बाटोमा ।
बसेर आलीको आँठोमा
समयसँग किनेका रत्नहरुको गाँठो
सधैंभरि बाठो बनोस्
कि कहिल्यै पाँच, दश, बीस का नोटसँग जीवन साट्न नपरोस् ।
बचपनमा खेलेका चुङ्गीहरूले
कहिल्यै नचुङ्गाउन
तपाईंको वर्तमानलाई
अनि भविष्यको चिन्ता
सकोस् जल्न वर्तमानको चित्तामा
किनकि
जीवनको लामो बाटो हिंड्न
विगत र भविष्यका दुई लौराहरु आवश्यक हुने गर्दोरहेछ ।
हजुरको जीवनको खेल
केही कसैको जीवनसँग मेल नखाओस्
किनकि यदि मेल खायो भने
खेल सकिन्छ
यात्रा रोकिन्छ ।
बिहान ग्याँस चुलो बलेझैं
बिहानै उदाएको
यो हजुरको सुन्दर जीवन
एक्कासी दुःखमा ननिभोस्
किनकि
यदि दु:खमा अग्नि निभ्यो भने
पिर पलाउँछ
जीवनको तापले हजुरलाई जलाउँछ ।
कलेजमा बनाएका बायोलोजीका चित्रहरू
चित्र बनाउन सघाउने मित्रहरू
सबैले हजुरलाई सघाउन्
सधैंभरि यसरी नै
चित्र र मित्रको उदाहरण मान्न सकिने गरी नै ।
बुबाको खल्तीबाट निस्किएको पैसाले
हजुरको जीवनका अज्ञानका गल्तीहरू सुधारुन्
यदि गल्ती सुध्रेन भने,
जीवनको मूल्य उध्रिन्छ
अनि गाह्रो पर्नेछ
हजुरलाई कमाउन र रमाउन
हजुरबारे लेख्दालेख्दै सकिएको यो मेरो कलम
अनि हजुरको भावनाको मसीझैं
सधैंभरि गाँसियोस् हाम्रो सम्बन्धको रसि
बनी सधैभरि जस्तै लययुक्त शशी ।
श्यामे हावाले
के लेख्छ के लेख्छ
के-के देख्छ के-के देख्छ
भनौली,
उसको देखाइ बत्तीमुनिको अँध्यारो बनोस्,
ताकि चम्काइको प्रकाशले
अनु भई चम्किली
हजुर तपाईंको प्रकाश
जताततै फैलियोस्,
हजुरको यश,
यही छ मेरो कामना
तिम्रै तारिफसँगै जन्मदिनको लाखौंलाख शुभकामना ॥
प्रतिक्रिया 4