
गुगलले आफ्ना एन्ड्रोइड फोनमा कल रेकर्ड गर्ने एपहरूमाथि अंकुश लगाउने निर्णय गरेको छ । आगामी मे ११ देखि गुगलले विभिन्न नयाँ नीति लागू गर्दैछ । जस अनुसार थर्ड पार्टी एपहरूले एन्ड्रोइड स्मार्टफोनमा कल रेकर्डिङ गर्न पाउनेछैनन् ।
गुगलको सोही नीतिलाई अनुशरण गर्दै फोन नम्बर पहिचान गर्ने एप ट्रुकलरले पनि आफ्नो एपमा फोनकल रेकर्ड गर्ने फिचर बन्द गर्ने भएको छ । स्मरण रहोस् कल रेकर्डिङ फिचर ट्रुकलरको सर्वाधिक लोकप्रिय फिचरमध्ये एक हो ।
समाचार अनुसार आफ्नै डिफल्ट कल रेकर्डिङ फिचर भएका स्मार्टफोनमा भने गुगलको नयाँ नीतिको असर पर्नेछैन र मे ११ पछि पनि कल रेकर्ड गर्न सकिनेछ । तर कल रेकर्डका लागि छुट्टै एप डाउनलोड भएका स्मार्टफोनमा भने कल रेकर्ड गर्न सकिनेछैन ।
एक विज्ञप्तिमा ट्रुकलरले भनेको छ- प्रयोगकर्ताको माग बमोजिम हामीले एन्ड्रोइड स्मार्टफोनमा कल रेकर्डिङ फिचर सुरु गरेका थियौं । तर अब गुगलको अपडेटेड नीतिपछि गुगलले कल रेकर्ड गर्ने अनुमति दिनेछैन । त्यसैले ट्रुकलरमा पनि कल रेकर्ड गर्न सकिनेछैन ।
स्मरण रहोस् एप्पलले भने आफ्ना आइफोनमा यस्तो कुनै इनबिल्ट कल रेकर्डिङ फिचर दिंदैन । एप स्टोरमा रहेका कतिपय कल रेकर्डर एपमध्ये कतिपयले खासै राम्रोसँग काम गर्दैनन् भने कतिपय सशुल्क एप छन् ।
कल रेकर्डिङका लागि विभिन्न देशमा फरक-फरक नियम छन् । कतिपय देशमा कल रेकर्डिङ अवैध छ । विश्वव्यापी रुपमै गोपनीयताको कडा नीतिसँगै एन्ड्रोइडले पनि कल रेकर्डिङलाई निरुत्साहित गर्न लागेको छ ।
तेस्रो पक्ष एपहरूमा कल रेकर्डिङ फिचर बन्द गरेसँगै गुगलले आगामी दिनमा स्मार्टफोनको इनबिल्ट कल रेकर्डर फिचरमा पनि अंकुश लगाउन सक्ने अनुमान गरिएको छ ।
एजेन्सी
प्रतिक्रिया 4