
११ वैशाख, रौतहट । स्थानीय निर्वाचनका लागि मनोनयन दर्ताको आइतबार पहिलो दिन रौतहटका निर्वाचन कार्यालयहरुमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ ।
रौतहटका १८ स्थानीय तहमा स्थापना भएका निर्वाचन कार्यालयहरुमा आइतबार अधिकांश स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
रौतहटको गौरमा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार अनिमेश मिश्रले पहिलो मनोनयन दर्ता गराएका छन् । निवर्तमान मेयर अजयकुमार गुप्ताले लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
गौर नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लोसपाका तर्फबाट उपमेयरमा उषा झाले उम्मेदवारी दर्ता गराएकी छिन् ।
आइतबार उम्मेदवारी दर्ता गराउनेहरुको सँख्या कम रहेको निर्वाचन कार्यालयले जनाएको छ । गौर नगरपालिकामा नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी, जनता समाजवादी र नेकपा एमालेका उम्मेदवारले सोमबार मनोनयन दर्ता गराउने छन् ।
यसै गरी रौतहटको ईशनाथ नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदमा अञ्जु झा र उपमेयर पदमा लालबिहारी साहले मनोनयन दर्ता गराएका छन् । गरुडा नगरपालिकामा हालसम्म कुनै पनि उम्मेदवारले मनोनय दर्ता गराएका छैनन् भने चन्द्रपुर नगरपालिकामा वडा अध्यक्ष पदका लागि एक जनाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मनोनयन दर्ताका लागि दुई दिनको समय छुट्टयाइएकोले जिल्लामा रहेका पालिकाहरुमा उम्मेदवारहरुले सोमबार मनोनयन दर्ता गराउने छन् । रौतहटका १८ स्थानीय तहमा १६ नगरपालिका र २ गाउँपालिका रहेका छन् ।
प्रतिक्रिया 4