
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति बनाएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई राखेर संसदीय समिति बनाएको हो ।
कांग्रेसको विधानअनुसार पार्टी सभापति स्वतः संसदीय समितिको सभापति र महामन्त्री संसदीय समितिको महामन्त्री हुनेछन् । कार्यसमितिका पदाधिकारीहरु पदेन सदस्य हुनेछन् भने सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले सदस्यमध्ये बढीमा ११ जना सदस्य तोक्न सक्नेछन् ।
तर देउवाले आइतबार वरिष्ठ नेता पौडेलको नाम मात्र प्रस्ताव गरेका छन् । आफूसँग सभापतिमा पराजित भएका डा. शेखर कोइरालालाई समेत राख्न चाहेनन् । नेताहरुका अनुसार उनलाई संसदीय समितिमा ल्याउने सहमति भएपनि अरु सदस्यबारे सहमति जुट्न नसक्दा लामो संसदीय समिति गठनमा अलमल चल्दै आएको थियो ।
आइतबार नै समितिको पहिलो बैठक बसेको छ, जसले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार सभापतिलाई दिएको छ ।
संसदीय समितिको निर्णयलाई आइतबार नै बसेको कार्यसम्पादन समितिको दोस्रो बैठकले अनुमोदन गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
प्रतिक्रिया 4