
११ वैशाख, काठमाडौं । नेपाल वितरक संघले एकाध ठूला व्यापारिक घरानाले आयातका लागि पाएको आयात प्रतीत पत्रको (आयातको बैंक स्वीकृति-एलसी) विरोध जनाएको छ । आतबार अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै संघका केन्द्रिय अध्यक्ष राजेन्द्रप्रसाद सिंखडाले एउटै कानुनको मातहतमा रहेर काम गर्ने साना व्यापारीको व्यवसाय ठप्प हुने गरी ठूलालाई मात्रै पोस्ने काम बन्द गर्न आग्रह समेत गरेको छ ।
एलसी रोकिएपछि खोलिएको आयातबारे सरकारले स्पष्ट पार्नुपर्ने समेत संघको माग छ । ‘मुलुकको कानुन साना व्यापारीले मान्नुपर्ने र ठूला व्यापारीलाई नलाग्ने हो ?,’ संघका अध्यक्ष सिंखडाले प्रश्न गरे ‘आयात खुले सबैलाई खुल्नु पर्छ बन्द भए सबैलाई बन्द हुनुपर्छ ।’
केही सीमित घराना र मानिसले मात्रै आयात गर्न पाउने अवस्थामा उनीहरुको व्यापार मात्रै फस्टाउने पनि संघको भनाइ छ । बजारमा स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने भन्दै संघले एलसी खोल्ने प्रकरणमा गल्ती गर्नेको पहिचान हुनुपर्ने पनि बताएको छ ।
‘यो गल्ति सरकारको हो । सरकार भनेको अर्थ मन्त्रालय हो, राष्ट्र बैंक हो,’ अध्यक्ष सिंखडा भन्छन्’ कि सरकारी नियम मिच्नेलाई कानूनी दायरामा ल्याउनु पर्यो कि समान कानुन लागू हुनुपर्यो ।’
वस्तु आयात रोक्ने वा खुला गर्ने सम्बन्धि सूचना पारदर्शी नभएको पनि संघको भनाइ छ । नगद मार्जिन र आयात रोक्ने शृङ्खलावद्ध निर्णयका कारण शक्ति केन्द्रबाट टाढा रहेका साना व्यापारीको व्यवसाय चौपट भएको पनि संघको भनाइ छ ।
सरकारी नीतिकै कारण आफ्नो व्यापार बिग्रेका व्यवसायीलाई बाइपास गरेर सीमित घरानाले व्यापार गर्ने वातावरण बनाइनु विडम्बनापूर्ण भएको पनि संघको ठहर छ ।
प्रतिक्रिया 4