
११ वैशाख, नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्ट र कुशासनको पर्याय भनी आरोप लगाएको छ ।
आइतबार स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले ओली सरकारको पालामा कयौं अनियमितता र भ्रष्टाचारका घटना भएको भन्दै तत्कालिन सरकारको आलोचना गरेको हो ।
‘नेकपाको सरकार पहिलो दिनदेखि कुशासन, भ्रष्टाचचार र अनियमिततालाई संस्थागत गर्दै आइरहेको थियो’ घोषणापत्रमा भनिएको छ, ‘सार्वजनिक सम्पत्तिमाथि लुटतन्त्र मच्चाउदै नेकपाको सरकारले भ्रष्टाचार, अनियमितता र अपारदर्शिताको क्षेत्रमा नयाँ नयाँ कीर्तिमान राख्दै आएको थियो ।’
कांग्रेसले वाइडबडी विमान खरीद, सेक्युरिटी प्रेस, ओम्नी समूहको अनियमितता लगायतका विषयको फेहरिस्त घोषणापत्रमा समावेश गरेको हो । उसले नेपाल ट्रष्टको सम्पत्तिमाथिको दोहन र ३३ क्वीन्टल सुन तस्करी प्रकरणमा समेत सरकारले बदनियतपूर्वक काम गरेको आरोप लगाएको छ ।
गुठी जग्गामा आखा लगाएर ओली सरकारले गुठी विधेयक ल्याएको दावी गरेको छ । ‘नेपालको इतिहासमा जनदवावको आधारमा हालसम्म कुनैपनि विधेयक सरकारले फिर्ता लिनुपरेको थिएन’ घोषणापत्रमा भनिएको छ, ‘सरकारका लागि यो भन्दा लज्जास्पद घटना अरु के हुनसक्छ ?’
कोभिड महामारीका बेलामा स्वास्थ्य सामग्री खरीदका क्रममा समेत अनियमितता भएको भन्दै घोषणापत्रमा प्रधानमन्त्री ओलीले जनस्वास्थ्यमाथि खेलबाड गरेको आरोप लगाएको छ । कांग्रेसले बालकृष्ण ढुंगेललाई आममाफी दिएको घटनाको आलोचना गर्दै उनलाई एमालेले पोलिटव्यूरो सदस्य बनाएकोमा प्रश्न गरेको छ । अनि संक्रमणकालीन न्याय टुंग्याउन रुची नदेखाएको भन्दै तत्कालिन ओली सरकारको आलोचना गरेको छ ।
संवैधानिक निकायको कम्युनिष्टकरण गरेको भन्दै कांग्रेसले घोषणपत्रमा अध्यादेशका आधारमा भएको सिफारिस र नियुक्तिले संवैधानिक निकायलाई एमालेले भर्ती केन्द्र बनाएको आरोप लगाएको छ ।
प्रतिक्रिया 4