
११ वैशाख, बुटवल । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले बुटवल उपमहानगरमा मेयर र उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गरेको छ ।
गठबन्धनमा आवद्ध ठूला दलहरुले बुटवल उपमहानगरमा आफ्नो पार्टीको अस्तित्व स्वीकार नगरेको भन्दै जसपाले अलग्गै उम्मेदवारी दर्ता गरेको हो । आइतबार अपरान्ह बुटवलस्थित निर्वाचन कार्यालयमा सुरज हितान मगरले मेयरमा र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । पहिलो दिन मेयर र उपमेयरको मनोनयन गरेको जसपाले सोमबार १९ वटै वडा अध्यक्षसहित मनोनयन गर्ने बुटवल नगर इन्चार्ज नाराण नागिलाले बताए ।
बुटवल उपमहानगरमा सत्तारुढ पाँच दलका बीच केन्द्रीय तहबाटै गठबन्धन कायम गर्ने सहमति भएको थियो । सहमति अनुसार बुटवलमा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ । तर, सत्ता गठबन्धनकै दलहरुले जसपालाई १९ मध्ये एउटा वडामा अध्यक्ष दिन पनि कन्जुस्याई गरेपछि गठबन्धन भत्कन सुरु भएको हो । हितानले आफ्नो दललाई ‘मिनिमाइज’ गरेको विषय असह्य भएर आफूहरुले मेयरमा उम्मेदवारी दिएको बताए ।
‘हामीलाई गठबन्धनले असाध्यै ‘मिनिमाइज’ गरे, हामीले जित्न नसकेपनि गठबन्धनलाई हराउने मत छ’ हितानले भने । जसपाले बुटवलमा आफ्नो ४ हजार मत रहेको दावी गर्दै आएको छ । पहिलो दिन रुपन्देहीका स्थानीय तहहरुमा साना दलले मात्रै मनोनयन दर्ता गरेका छन् ।
प्रतिक्रिया 4