
११ वैशाख, परासी । नेकपा एमालेले पश्चिम नवलपरासीका सबै स्थानीय तहमा उमेदवारको टुंगो लगाएको छ । टुंगो लगाएका प्रमुख उमेदवारमा अधिकांश पुरानै छन् ।
यसअघि जितेकामध्ये २ वटा पालिकाको प्रमुखमा दोहोराएर उमेदवार बनाइएको छ । जितेको १ गाउँपालिकाको उपाध्यक्ष पनि दोहोराइएको छ । दुई नगरपालिकाको उपप्रमुखमा भने नयाँ अनुहार उठाइएको छ ।
३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह छन् । एमालले बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिकाको प्रमुख÷उपप्रमुख जितेको थियो । सुनवल नगरपालिकामा उपमेयर जितेको थियो ।
दोहोरिएका उमेदवारमा बर्दघाट नगरपालिकाको प्रमुखमा धीरज शर्मा र सुस्ता गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे छन् । सुस्ता गाउँपालिकाको उपाध्यक्षमा इन्द्रकुमारी थरुनीलाई दोहोर्याएर उमेदवार बनाइको छ ।
बर्दघाट नगरपालिकाको उपमेयर जिते पनि राष्ट्रिय जनमुक्ति पार्टीलाई उक्त पद दिइएको छ । त्यहाँ राष्ट्रिय जनमुक्तिबाट तारा रानालाई उठाइएको छ । राष्ट्रिय जनमुक्तिले सूर्य चिन्ह लिएर चुनाव लड्ने एमालेले जनाएको छ ।
सुनवल नगरपालिकाको प्रमुखमा विमला अर्याल र उपप्रमुखमा सूर्य दुबे छन् । त्यहाँ यसअघि जितेका उपमेयरको ठाउँमा दुबेलाई ल्याइएको हो । प्रमुख पदकी उमेदवार अर्याल यसअघि नेपाली कांग्रेससँग पराजित भएकी हुन् ।
। रामग्राम नगरपालिकाको प्रमुखमा धनपद यादव र उपप्रमुखमा लक्ष्मी क्षेत्री उमेदवार छन् । सरावल गाउँपालिकाको अध्यक्षमा सुखाडी चौधरी र उपाध्यक्षमा बासमती हरिजन छन् ।
पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा अफताब आलम अन्सारी र उपाध्यक्षमा रिंगला यादव छन् । प्रतापपुर गाउँपालिकाको अध्यक्षमा खेमनारायण चौधरी र उपाध्यक्षमा थमसरा न्यौपाने (कमला)लाई उमेदवार बनाइएको एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए । कांग्रेसलगायत अन्य दलहरुले भने अहिलेसम्म उमेदवार टुंगो लगाउन सकेका छैनन् ।
प्रतिक्रिया 4