
११ वैशाख, बुटवल । नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि समकक्षी नेताहरुलाई पछाडि पार्दै रुपन्देहीका विष्णु पौडेल पार्टीको महासचिव भएर एकाएक शक्तिशाली बने ।
सरकार र पार्टी दुबैतिर पौडेल हावी देखिए । तर नेकपामा विवाद हुँदै विभाजन र एमालेको दशौं महाधिवेशन यतासम्म आइपुग्दा पौडेल निरन्तर कमजोर बन्दै गएका छन् ।
विगतमा उनी नजिक रहेका नेताहरुले एकपछि अर्को गर्दै उनको साथ छाड्न थालेका छन् । जुन कुरा अहिले स्थानीय तहको निर्वाचनको उम्मेदवार चयनका क्रममा पनि प्रष्टै देखियो । रुपन्देहीका एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिकाको नेतृत्वका लागि टिकट वितरणमा पौडेल निरीह जस्तै देखिए ।
राष्ट्रियस्तरमै प्रभाव पार्ने बुटवल उपमहानगरमा पौडेलका निकट र विश्वासपात्र गोपाल राना मेयरका प्रबल दावेदार थिए । धेरैले रानाले टिकट पाउने विश्वास गरे पनि विगतमा विष्णु पौडेल निकट भए पनि पछिल्लो समय महासचिव शंकर पोखरेलको समूहमा गएका बाबुराम भट्टराईले बाजी मारे ।
प्रदेश कमिटीमा पनि विष्णु पौडेल पक्ष अल्पमतमा परेकाले रानाको पक्षमा जोडबल गर्न पौडेलले नसकेको एमाले नेताहरु बताउँछन् । प्रदेश इन्चार्ज एवं पार्टी सचिव छविलाल विश्वकर्मा, प्रदेश अध्यक्ष लिला गिरी, प्रदेश सभाका एमाले प्रमुख सचेक भूमिश्वर ढकाललगायत सबै यतिबेला विष्णु पौडेल समूहमा छैनन् । उनीहरु महासचिव शंकर पोखरेलको समूहमा छन् ।
बुटवल मात्र होइन, रुपन्देहीका ५ नगरपालिकामध्ये ४ वटामा महासचिव पोखरेल र घनश्याम भूसाल निकटका नेताले टिकट पाए । पौडेल निकटका भने सैनामैनाका चित्रबहादुर कार्कीले मात्र टिकट पाए ।
सिद्धार्थनगरमा पौडेलले रियलस्टेट व्यवसायी नारायणप्रसाद भण्डारीलाई टिकट दिलाउन चाहन्थे । तर त्यहाँ घनश्याम भूसाल निकटका डा. रामप्रसाद बस्यालले टिकट पाए । जबकि बस्यालले टिकटका लागि खुलेर लबिइङ गरेका थिएनन् ।
बस्यालले टिकट पाउने कमैले आशा गरेका थिए । बस्यालले टिकट पाउनुमा पछिल्लो समय महासचिव पोखरेल र भूसालबीचको एकताले काम गरेको हुन सक्ने स्थानीय नेताहरु बताउँछन् । गाउँपालिका अध्यक्षको पुन: टिकट पाएका सियारी गाउँपालिका प्रमुख अयोध्या थारु पनि भूसाल निकट मानिन्छन् ।
पार्टी स्रोतका अनुसार भूसाल निकटका व्यक्तिलाई वडा तहसम्म नेतृत्व दिने सहमति भएको छ । ‘घनश्यामजीलाई पार्टीको केन्द्रमा किनारामा पारिएकै छ,’ एक नेताले अनलाइनखबरसित भने, ‘जिल्लामा पनि उहाँ निकटका आकांक्षीहरुलाई अघि बढ्न नदिंदा त्यसको सन्देश राम्रो नजाने बुझेरै होला । उहाँ निकट रहेका तर उम्मेदवार बन्न चाहनेलाई रोकिएको छैन ।’
जिल्लास्थित एमाले नेताहरुका अनुसार, पार्टी उपाध्यक्ष विष्णु पौडेलले तिलोत्तमा नगरपालिकाको मेयरमा पुनः बासुदेव घिमिरेलाई दोहोर्याउन चाहन्थे । घिमिरे पहिले भूसाल पक्षकै भए पनि नेकपाभित्रको विवाद चर्किँदै जाँदा पौडेलतिर लागेका थिए ।
तर तिलोत्तमामा पौडेललाई छोडेर महासचिव शंकर पोखरेलको खेमामा पुगेका मोहन चापागाईंले टिकट पाए । चापागाईं पौडेल अघिल्लोपटक अर्थमन्त्री रहेका बेला उनका सञ्चार विज्ञ समेत बनेका थिए । चापागाईंले पौडेल र महासचिव पोखरेल दुबै नेताको विश्वास जितेका र अन्तिममा पोखरेलले अडान लिएका कारण टिकट पाएको बताइन्छ । उपमेयरमा टिकट पाएकी जागेश्वरी चौधरी भने भूसाल निकट हुन् ।
देवदहको मेयरमा टिकट पाएका ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ पनि महासचिव पोखरेल र सचिव छविलाल विश्वकर्मा निकटका हुन् ।
प्रतिक्रिया 4