
१२ वैशाख, विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ ।
एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय भएको छ ।
विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै थापाले टिकट पाएका हुन् ।
थापा दुई महिना अघिदेखि नै चुनावको तयारीका लागि भन्दै घरदैलो अभियानमा थिए । ‘उम्मेदवार फाइनल भएको जानकारी फोनमा आयो,’ उनले सोमबार बिहान अनलाइनखबरसँग भने । उनले आज दिउँसो उम्मेदवारी मनोनयन दर्ता गर्ने बताए ।
नेकपा एमालेले उम्मेदवारको टुंगो लगाए पनि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन । कांग्रेसबाट नागेश कोइराला, भीम पराजुली र अमृत अर्याल मेयरको प्रमुख दाबेदार छन् ।
गठबन्धनमा रहेका दलहरुले भागबन्डा गर्दा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो । जसपाले अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई उपमेयरमा अघि सार्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4