
१२ वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ९ की पार्वती कार्की वैशाखीको सहारा बिना उभिन पनि सक्दिनन् ।
तर पनि उनी व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन सकिनसकी निर्वाचन अधिकृतको कार्यालय पुगिन् ।
स्वतन्त्र उम्मेद्वारी दिएकी उनी कसैलाई हराउन वा चुनाव जित्न उम्मेदवार बनेकी होइनन् । नगरपालिकाले गरेको विभेदप्रतिको ‘विद्रोह’ गर्दै मेयरमा उम्मेदवारी दिएको उनले बताइन् ।
कार्कीलाई १० वर्ष अघि बाथ रोगले च्यापेको थियो । उनी उपचारको लागि काठमाडौं गइन् । उनलाई चिकित्सकले केही औषधि दिएर घरमै आराम गर्न सुझाव दिए । त्यसपछि उनी घरमै आराम गरेर बस्न थालिन् । केही वर्षपछि दुर्घटनामा परेर उनी घाइते भइन् । त्यसपछि उनले बाथ रोगको औषधी सेवन गर्न छोडिन् ।
औषधी सेवन गर्न छोडेको तीन वर्ष पछि उनको खुट्टाको जोर्नीले काम गर्न छोड्यो ।
उनले खुट्टाको उपचारको लागि भारत जाने तयारी गरिन र अपाङ्गता परिचय पत्रको लागि वडा कार्यालयमा निवेदन दिइन् । पटक पटक वडा कार्यालय र नगरपालिका धाउँदा पनि उनले अपाङगता परिचय पत्र पाइनन् । त्यसपछि गुनासो पोख्ने ठाउँ कतै नभेटेकी उनी बताउँछिन् । वडा कार्यालयबाट सिफारिस र अपाङगता परिचय पत्र नपाउँदा उपचार नभएको उनले ठानेकी छिन् ।
त्यसकै विरोधमा मेयरमा उठेर नगरपालिका र वडाकार्यालयप्रति ‘विद्रोह’ गरेको उनले बताइन् ।
‘वडा कार्यालयले सिफारिस गर्दिएको भए, अहिले मेरो उपचार हुन्थ्यो, तर मलाई नगरपालिकाले भेदभाव गर्यो,’ व्यासमा उम्मेदवारी दर्ता गरेपछि उनले भनिन् ‘मलाई राजनीतिमा आउने कुनै रहर, इच्छा छैन, नगरपालिकाले गरेको भेदभावकै कारण मलाई उम्मेदवारी दिने प्रेरणा मिलेको हो ।’
मनोनय दर्ता गरे पनि प्रचारप्रसार गर्ने र भोट माग्दै घरघर हिँड्ने शक्ति उनीसँग छैनन् । त्यसैले उनी भोट माग्न कतै पनि जान्नन् । कार्कीले भनिन्, ‘कसैलाई केही पनि भन्दिन, प्रचारप्रसारमा पनि हिँड्दिन । घरमै बस्छु, चुनावको नतिजा सुनेर बस्छु ।’
प्रतिक्रिया 4