
काठमाडौं । भारतीय डकुमेन्ट्री ‘लङगिङ’ फिल्म साउथ एसियामा उत्कृष्ट घोषित भएको छ । ९० मिनेटको यो डकुमेन्ट्री फिल्मले सन् १९४८ को लण्डन ओलम्पिक अन्तर्गत हक्की खेलमा भारतले इङ्ल्याण्डलाई हराएको कथा प्रस्तुत गर्छ ।
वाणी सिंह निर्देशित यो फिल्मले फेस्टिभलमा दुई हजार अमेरिकी डलर राशीको रामबहादुर ट्रफी पुरस्कार जित्यो । चार दिनसम्म ललितपुरस्थित यलमाया केन्द्रमा चलेको फेस्टिभलमा आठ मुलुकका ७१ फिल्म स्क्रिनिङ भए ।
जुरी अवार्ड चाहिं पूजा गुरुङ र विभूषण बस्नेत निर्देशित फिल्म ‘द बिग हेडेड ब्वाइ : समन्स एण्ड सामुराइज’ले जित्यो । तारिक मसुद उत्कृष्ट डेब्यु फिल्म अवार्ड भारतको ‘इन टु द सी’ र नेपालको ‘गोर्खा गर्ल’ले संयुक्त रुपमा जिते । दुवैले एक हजार डलर राशी जिते ।
बालबालिका खण्डतर्फ भारतको ‘महालिज् स्कुल : फ्यामिली गोइङ लाइभ’ उत्कृष्ट भएसँगै एक हजार डलर पुरस्कार जित्यो । नेपाली फिल्म ‘गाइने’ विद्यार्थी फिल्म खण्डतर्फ उत्कृष्ट हुँदै ५०० डलर जित्न सफल भयो ।
राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा यसपटक नयाँ विधा थप गरिएको थियो । द प्लानेट पिपुल डकुमेन्ट्री फेलोसिप अवार्ड जलवायु परिवर्तनको विषयवस्तुमा बन्ने फिल्मको लागि अनम अब्बासलाई प्रदान गरियो ।
अप्रिल २१ देखि २४ सम्म यलमाया केन्द्र र रातो बंगला स्कुलमा फेस्टिभल सञ्चालन भएको थियो । फेस्टिभलको २५ औं संस्करणमा भाग लिन दक्षिण एसियाली मुलुकका फिल्ममेकर ललितपुरमा भेला भएका थिए ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4