
१२ वैशाख, डोटी । आइतबार बिहानैदेखि डोटीका सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल गरेर जाने विषयले चर्चा पायो । जिल्ला र प्रदेशले गठबन्धन दलहरूबीच चुनावी तालमेल नहुने निष्कर्ष निकालेको भए पनि शनिबार केन्द्रले नै निर्देशन गरेपछि फेरि प्रयास भयो ।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेमगर सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री एवं माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं कांग्रेस नेता भरतबहादुर खड्कासहितका नेताहरू दिनभर सहमति जुटाउन लागे ।
राति करिब ८ बजेतिर एउटा खाका सार्वजनिक भयो । जिल्लाका नौ पालिकामध्ये कांग्रेस चार, माओवादी केन्द्र तीन र समाजवादी दुई पाउने गरीसहमति भयो । राति करिब ९ बजेतिर ६५ वडामध्ये २८ मा कांग्रेस, २१ माओवादी केन्द्र र १६ मा समाजवादीले पाउने गरी भागबन्डा मिलेको सहमति भएको खबर सार्वजनिक भयो ।
तर, उक्त खबर धेरै बेर टिकेन । १० नबज्दै फेरि गठबन्धन भाँडिएको समाचार बाहिरियो । के भयो यस्तो, किन एक घण्डा पनि टिक्न सकेन चुनावी तालमेलको सहमति ? छलफलमा सहभागी एकीकृत समाजवादीका डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटी भन्छन्, ‘भागबन्डा सबै मिल्यो, कम्प्युटरमा टाइप गरेर सहमतिका बुँदाहरू पि्रन्टसमेत भए तर अन्तिममा कांग्रेस ब्याक भयो ।’
बोगटीका अनुसार गठबन्धन मुख्यमन्त्रीको सम्पर्क कार्यालय राजपुरमा वार्ता भइरहेको थियो । सहमति भएको कुरा सार्वजनिक भएपछि कांग्रेसका कार्यकर्ताहरू मुख्यमन्त्री निवास बाहिर पुगेर नारावाजीमा उत्रिए ।
उनीहरूले वार्तामा बसेका कांग्रेस नेताहरूलाई बाहिर आउन दबाब दिए । कार्यकर्ताको दबाबपछि नेताहरू हस्ताक्षर नगरि बाहिरिए ।
‘गठबन्धन नहुने भएपछि हामीहरू (माओवादी-एस)ले आफ्नो तयारी गरेका थियौं, हाम्राबीचमा सहमतिसमेत भइसकेको थियो’ बोगटी भन्छन् ‘फेरि केन्द्रबाटै निर्देशन आएपछि हामी बस्यौं, सहमति पनि भयो तर अन्तमा यस्तै भयो ।’
उनले जिल्लाका दुई नगरपालिका दिपायल सिलगढी र शिखरसहित केआई सिंह र सायल गाउँपालिकामा कांग्रेसले पाउने सहमति भएको बताए ।
यस्तै, आदर्श, बोगटान फुड्सिल र जोरायल गाउँपालिकामा माओवादी केन्द्र र पूर्वीचौकी र बडीकेदार एकीकृत समाजवादीले पाउने गरी टुङ्गो लागेको उनी बताउँछन् ।
सहमति अनुसार पूर्वीचौकी, जोरायल, बडीकेदार र आदर्शमा कांग्रेसले, दिपायल सिलगढी, सायल र केआई सिंहमा माओवादीले र बोगटान फुड्सिल र शिखरमा एकीकृत समाजवादीले उपप्रमुख पाउने भन्ने थियो ।
आन्तरिक रुपमा कांग्रेसले गठबन्धन गर्नै नचाहेको कांग्रेसका एक नेता बताउँछन् । ‘केन्द्रबाट दबाब आएर हामी छलफलमा बसेका हौं, होइन भने हामी एक्लै लडेर पनि जित सुनिश्चित भएका पालिका कसरी अरुलाई दिनु ?’ उनी भन्छन् ‘कार्यकर्ताको प्रेसर धेरै भयो, नेतृत्वले थेग्नै सकेन ।’
माओवादी-समाजवादी-राजमो गठबन्धन
राष्ट्रिय जनमोर्चालाई बाहिरै राखेर कांग्रेससहितको तालमेलको प्रयास असफल भएपछि माओवादी, समाजवादी र राजमोबीच आइतबार राति नै गठबन्धन भएको छ ।
समाजवादी जिल्ला अध्यक्ष बोगटीका अनुसार माओवादीले दिपायल सिलगढी, सायल, आदर्श, केआई सिंह र बोगटान फुड्सिलको प्रमुख पाउने भएका छन् ।
यस्तै बडीकेदार, जोरायल, पूर्वीचौकी र शिखर समाजवादीले प्रमुखमा उम्मेदवारी दिनेछ । माओवादीले शिखर, पूर्वीचौकी, जोरायल, बढीकेदारमा उपप्रमुख पाउने र दिपायल सिलगढी, सायल, आदर्श, केआई सिंह र बोगटान फुड्सिलमा समाजवादीले उम्मेदवार पाउने सहमति भएको बोगटी बताउँछन् ।
६५ वडामध्ये माओवादी ४०, एकीकृत समाजवादी २३ र राजमोले एक वडा पाउने भएका छन् । केआई सिंह गाउँपालिका वडा नं. ७ मा कसले उम्मेद्वारी दिने भन्ने सहमतिमा उल्लेख छैन ।
प्रतिक्रिया 4