
१२ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ ।
राप्रपाले एमालेबाट माडीको मेयरको उम्मेदवार बनेकी ताराकाजी महतोलाई सहयोग गर्नेछ भने, उपमेयरमा एमालेले राप्रपाका मदन पौडेललाई सहयोग गर्ने राप्रपाका जिल्ला प्रवक्त राजु भण्डारीले जानकारी दिए । उनका अनुसार एमालेबाट उपमेयर उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यको उम्मेदवारी फिर्ता लिने सहमति छ । राप्रपाले मेयरमा उम्मेदवारी दर्ता गराएको छैन ।
९ वटा वडा रहेको माडी नगरपालिकामा एमालेले मेयरसहित ४ र राप्रपाले उपमेयरसहित ५ वडा लिने सहमति भएको उनले बताए ।
माडी नगरपालिकामा राप्रपाको बलियो प्रभाव छ । राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र पर्ने माडीमा यसअघि भएको स्थानीय तहको निर्वाचनमा राप्रपाका मेयर उम्मेदवार मदन पौडेलले ३,०७३ मत ल्याएका थिए ।
माडीमा गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका ठाकुर ढकालले ३,८७३ मत ल्याएर मेयर जित्दा कांग्रेसका खेमप्रसाद महतोले ३,८२९ मत ल्याए । एमालेबाट उम्मेदवार बनेका नारदमणि पौडेलले ३,८२६ मत ल्याएर तेस्रो भएका थिए ।
माडीमा सत्ता गठवन्धनका तर्फबाट कांग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल भएको छ ।
माडीको मेयर माओवादीको भागमा परेको छ भने उपमेयर कांग्रेसको भागमा परेको छ ।
माओवादीबाट ऋषिराम काफ्लेले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् भने अघिल्लोपटक मेयर उम्मेदवार रहेर पराजित बनेका कांग्रेसका खेम महतो उपप्रमुखको उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया 4