
१२ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाका निवर्तमान मेयर मानबहादुर खड्काको उम्मेदवारी खारेज भएको छ ।
नेकपा एमालेको मधेश प्रदेश कमिटीबाट टिकट पाएका खड्काले बिहानै ११ बजेर ४० मिनेटमा मनोनयन दर्ता गरेका थिए ।
तर पछि एमालेको केन्द्रीय कमिटीबाट टिकट लिएका गोविन्द महत मनोनयन दर्ता गराउन कार्यालय पुगेका थिए ।
तर निर्वाचन अधिकृतको कार्यालयले एमालेबाट मेयरमा पहिले नै उम्मेदवारी दर्ता भइसकेको भन्दै तत्कालै महतको नाममा अर्को उम्मेदवारी दर्ता गर्न मानेन ।
त्यसपछि एमाले नेताहरुले प्रदेश र केन्द्रीय कमिटीबाट आफ्नो पार्टीको उम्मेदवार गोविन्द महत नै रहेको पत्र लेखाएपछि खड्काको मनोनयन खारेज गरेर ४ः४५ बजे बल्ल महतको उम्मेदवारी दर्ता भयो ।

नेता महतले अब आफू एमालेबाट मेयरको आधिकारिक उम्मेदवार भएको बताएका छन् । एमालेले उपमेयरमा सनसरीमाया थिङलाई उठाएको छ ।
लालबन्दीमा नेपाली कांग्रेसबाट मेयरमा बासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रिन, नेकपा माओवादी केन्द्रबाट मेयरमा प्रल्हाद बुढाथोकी र उपमेयरमा सुमित्रा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट मेयरमा रमा पौडेल र उपमेयरमा गोविन्द अधिकारीको उम्मेदवारी दर्ता भएको छ ।
प्रतिक्रिया 4