
१२ वैशाख, डोटी । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि डोटीको दिपायल सिलगढी नगरपालिकामा तीन जनाको उम्मेदवारी परेको छ ।
नगर प्रमुखमा नेकपा एमालेबाट लक्ष्मण मलासीले उम्मेदवारी दिएका छन् । मलासी एमाले डोटी जिल्ला कमिटी सदस्य हुन् । उपाध्यक्षमा एमालले रुपा कठायतलाई अघि सारेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख र नौ वडामध्ये पाँच वटामा जित हात पारेको थियो ।
नेपाली कांग्रेसबाट नगर प्रमुखमा बाजीसिंह खड्का (विजय) ले उम्मेदवारी दिएको छ । कांग्रेस जिल्ला कार्यसमिति उपसभापति समेत रहेका खड्का गत निर्वाचनमा पनि उम्मेदवार थिए । अघिल्लो निर्वाचनमा उनी एमालेका उम्मेदवार मञ्जु मलासीसँग दुई सय ७६ मतले पछाडि परेका थिए । मलासीले चार हजार चार सय २८ मत ल्याउँदा खड्काले चार हजार एक सय ५२ मत पाएका थिए । कांग्रेसबाट उपप्रमुखमा कल्पना साउदले उम्मेदवारी दिएकी छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले नगरपालिकाका चार वटा वडामा जितेको थियो ।
दिपायल सिलगढीमा नेकपा माओवादी केन्द्र र एकिृकत समाजवादी पार्टीले गठबन्धन गरेको छ ।
गठबन्धनबाट माओवादीका खगेन्द्र साउदले प्रमुखमा उम्मेदवारी दिएको छ । उनी माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत हुन् । गत वर्षको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारले सात सय ३७ मत ल्याएका थिए । गठबन्धनको तर्फबाट दिपायल सिलगढीको उपप्रमुखमा ऐश्वर्या बिष्टलाई अघि सारेको छ । बिष्ट एकिकृत समाजवादीबाट उम्मेद्वार बनेकी हुन् ।
तीनै जनाले निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गर्ने बताएका छन् । तीनै उम्मेदवारहरुले चुनाव जित्ने दावी गरेका छन् ।
प्रतिक्रिया 4