
काठमाडौं । आगामी असारदेखि ‘छड्के २’को छायांकन सुरु हुने भएको छ । सन् २०१३ को चर्चित फिल्मको दोस्रो श्रृंखलाले मंगलबार अडिसन आह्वान गरेको छ ।
भरतपुरस्थित निर्वाणा स्कुलमा अडिसन डाकिएको हो । वैशाख १८ देखि २१ गतेसम्म हुने अडिसनमा मार्सल आर्ट्स कला भएकालाई प्राथमिकता दिइने जनाइएको छ ।
गत दशैंमा रिलिज मिति तोकिएको फिल्मले बल्ल निर्माणको सुरसार थालेको हो । निगम श्रेष्ठले निर्देशन गर्ने फिल्मको पटकथा पनि उनी स्वयंले लेखेका छन् । ‘फिल्मको प्रि-प्रोडक्सन सकिएको छ र अब अडिसन हुँदै चुनावपछि छायांकनमा जाने तयारीमा छौं,’ अडिसनमा सहभागी एक सदस्यले अनलाइनखबरलाई भने ।
नयाँ कलाकारलाई लिएर सिक्वेल बनाउन लागिएको जनाइएको छ । अघिल्लो भागका कलाकारहरु सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, विपिन कार्कीले निरन्तरता पाउने वा नपाउने खुलाइएको छैन । अभिनेता कार्कीले आफूसँग सिक्वेललाई लिएर कुरा नभएको बताए ।
अघिल्लो सिरिजका निर्माताहरु नरेन्द्र महर्जन र माधव वाग्लेबिनै नेगेटिभ बुद्ध कम्पनीले फिल्म बनाउन लागेको हो ।
प्रतिक्रिया 4