१३ वैशाख, काठमाडौं । नेपाली महिला क्रिकेटकी कप्तान रुविना क्षेत्री र उपकप्तान सीता राना मगरले दुबईमा हुने फेयरब्रेक इन्टरनेशनलमा भाग लिने छन् ।
नारी शशक्तीकरणका लागि हङकङ क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगिता कोरोना जोखिमका कारण युएई सारिएको छ । नेपाली स्टार खेलाडीद्वय रुविना र सीता १७ वैशाखमा युएई पुग्नेछन् ।
भारत, पाकिस्तानलगायत टेष्ट राष्ट्रका खेलाडीहरु सहभागी प्रतियोगितालाई नेपालका खेलाडीहरुले नेपाली महिला क्रिकेटलाई विश्वसामू परिचित गराउने अवसरका रुपमा लिएका छन् ।
नेपालका तर्फबाट छनोट भएका यी खेलाडी दुई फरक टिमबाट प्रतिस्पर्धा गर्दैछन् । रुविनाले द बर्मी आर्मी टिमबाट खेल्ने छिन् भने सीताले द टोर्नाडोज टिम पाएकी छन् । क्वीन्स इभेन्ट म्यानेजमेन्टको पहलमा सीता र नेपाल क्रिकेट संघ क्यानको पहलमा रुविनाले यो प्रतियोगितामा प्रवेश पाएका हुन् ।
दर्ता भएका खेलाडीलाई आयोजकले नै टिम टुंगो लगाइदिएका हुन् । यसअघि अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगितामा अभ्यासको अवसर पाए पनि नेपाली महिला क्रिकेटरले पाएको यो पहिलो अन्तर्राष्ट्रिय एक्सपोजर हो ।
आइसीसीबाट मान्यता प्राप्त यस लिगमा ६ टिमबिच प्रतिस्पर्धा हुनेछ । १५ दिन लामो प्रतियोगितामा कुल १९ खेल हुनेछन् । मे १ देखि १५ सम्म प्रतियोगिताको मिती तोकिए पनि आधिकारिक खेलहरु ४ मेबाट सुरु हुने सीताले जानकारी दिइन् । मंसिरमा उपकप्तान सीताले खेल्ने टुंगो भएपछि पुसमा रुविनाको नाम छनोट भएको हो ।

‘नेपाली खेलाडीका लागि टेष्ट मान्यता देशका कप्तानदेखि उत्कृष्ट खेलाडीहरुसँग खेल्नु ठूलो अवसर हो । विश्वकपको अनुभव भइसकेकाहरुबाट धेरै कुरा सिक्न पाइने आशा राखेकी छु,’ रुविनाले अनलाइनखबरसँग भनिन् ।
उनले यो प्रतियोगितामा नेपाली महिला क्रिकेटको स्तर देखाउने माध्यमका रुपमा प्रयोग गर्ने सोध राखेकी छन् ।
राष्ट्रिय टोलीकी उपकप्तान सीता रानामगर पनि यो प्रतियोगिताका लागि उत्साहित छिन् । ‘म र रुविना फरक टिममा छौं । फरक टिमको फरक प्रशिक्षक, विभिन्न देशबाट आएका खेलाडीको खेल्ने तरिका सिक्ने मौका हुन्छ,’ सीताले अनलाइनखबरलाई भनिन् ।
आफूहरुको प्रदर्शनले नै आगामी दिनमा नेपाली महिला क्रिकेटका अन्य खेलाडीको पनि बाटो खोल्ने अवसरको ढोका खोल्ने भएकाले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको रुविनाले बताइन् । भन्छिन्, ‘मैले र सीताले कति गर्न सक्छौं त्यहिबाट नै अन्य खेलाडीले पनि अवसर पाउने नपाउने भन्ने निर्धारण हुन्छ ।’
‘हामीले गर्ने प्रदर्शनले अब आउने बहिनीहरुलाई प्रेरणा बनोस् भन्ने लाग्छ,’ अर्की खेलाडी सीताले भनिन्, ‘हामीले गुरुसँग पनि कुरा गरेका छौं । उहाँले धेरै कुरा सिकाउनु भएको छ ।’
सम्बन्ध विस्तारको उद्देश्य
प्रतियोगितामा सीता तथा रुबिना दुवैको टिममा टेष्ट राष्ट्रका उत्कृष्ट खेलाडीहरु रहेका छन् । पाकिस्तानकी पूर्वकप्तान सना मिर, भारतकी हरमप्रित कौर, अस्ट्रेलियाकी मेगनन डू पेरेजजस्ता खेलाडीको संगतले क्रिकेटको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा रुविना र सीताको छ ।
‘विभिन्न देशका खेलाडीहरु आउँछन्, उनीहरुसँग राम्रो सम्बन्ध विस्तार गरी नेपालमा मैत्रीपूर्ण खेल्न अनुरोध गर्नेछौं । यो कुरा हामीलाई प्रशिक्षक जगत (टमाटा)गुरुले पनि सिकाउनु भएको छ ।’ सीताले भनिन् ।

कप्तान रुविनाको भने फरक योजना छ । भन्छिन्, ‘साउथ अफ्रिका तथा पाकिस्तानको ए टिम नै भए पनि नेपालमा ल्याएर मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव गर्नेछौं ।’
एशोसियट राष्ट्रकै रुपमा हेर्ने हो भने, थाइल्यान्ड र युएई नेपालको तुलनामा अधिक एक्सपोजर पाएका राष्ट्र हुन् । अन्तर्राष्ट्रिय क्रिकेटसँगको दूरी कम गर्ने लक्ष्य उनीहरुको छ ।
रुविना भन्छिन्, ‘नेपाली खेलाडीका लागि ठूलो अवसर रहेकाले यस्तो अवसर बारम्बार आउँदैन । आफ्नो क्षमता देखाउने त्यहि अनुसार खेल्ने लक्ष्य राखेका छौं ।’
यस प्रतियोगिताबाट फरक अनुभव र सीप लिएर नेपालमा कार्यान्वयन गर्ने उपकप्तान सीताले बताइन् । ‘हामीले त्यहाँ सिकेर आएको कुरा यहाँ पनि लागू गर्नेछौं । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सिक्नु पर्ने धेरै कुराहरु हुन्छन् । खेलको रणनीति र अन्र्राष्ट्रिय खेलको अभ्यासमात्र जानियो भने पनि हाम्रा लागि ठूलो उपलब्धी हुनेछ,’ सीताले भनिन् ।
प्रतिक्रिया 4