
१३ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई भ्रष्टचार र बेइमानी नगर्न आग्रह गरेका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानीय तहका उम्मेदवारलाई मंगलबार पार्टी कार्यालयमा बोलाएर उनले भ्रष्टाचार र बेइमानी गर्दिन भनेर मानसिक रुपमा तयार हुन निर्देशन दिएका हुन् ।
यो चुनावलाई राप्रपाले आफ्नो शक्ति देखाउने अवसरको रुपमा लिएको भन्दै लिङ्देनले भने, ‘राप्रपा बन्द कोठामा सीमित हुने पार्टी होइन, जनताको मन मस्तिष्कमा बसेको पार्टी हो ।’
जीवनमा राप्रपा हुन्छु भन्ने कल्पना नगरेकाहरु पनि अहिले पार्टी प्रवेश गर्न तँछाडमछाड गरिरहेको दवी गर्दै अध्यक्ष लिङ्देनले अहिले पार्टीको पक्षमा देखिएको जनमत कायम राख्न सके अकल्पनीय परिणाम आउने बताए ।
राप्रपाले जरैदेखि भ्रष्टाचार अन्त्य गर्न चाहेको भन्दै उनले मतदातालाई यस विषयमा विश्वास दिलाउन उम्मेदवारहरुलाई आग्रह गरे ।
उनले अरुको भन्दा राप्रपाको घोषणापत्र राम्रो भएको दावी गरे । ‘आकाशको तारा झार्ने कुरा गरेका छैनौं, यथार्थपरक, गर्न सकिने र विगतमा चुनाव जितेका स्थानीय तहमा प्रयोग गरेको र अनुभवका आधारमा तयार पारिएको घोषणापत्र छ’ अध्यक्ष लिङ्देनले भने ।
प्रतिक्रिया 4