
१३ वैशाख, नवलपरासी । पार्टीबाट टिकट नपाएपछि दल बदल्ने र बागी उमेदवारी दिने पश्चिम नवलपरासीमा ठूला दलका लागि चुनौती बनेका छन् ।
दल फेर्ने र बागी उठ्नेमा कांग्रेस र एमालेका जनप्रतिनिधि र कार्यकर्ता बढी छन् ।
पार्टीले टिकट नदिएपछि कांग्रेसबाट निर्वाचित भएका प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष अञ्जु कुमारी चौधरी र पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष पावित्री कोहाँरले दल नै फेरेरे उमेदवारी दिएका छन् ।
वै जना कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । मनोनयनको अन्तिम दिनसम्म टिकट पाउने आशमा बसेका चौधरी र कोहाँरलाई पार्टीले नपताएपछि दल फेरेर पुन: उपाध्यक्षमा उमेदवारी दिएका हुन् ।
चौधरीले पूर्वमन्त्री हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट उमेदवारी दिएकी छन् । कोहाँरले माओवादी केन्द्रबाट उमेदवारी दिएकी छन् ।
सुनवल नगरपालिकाको उपमेयरको टिकट नपाउने भएपछि एमालेका लेखनाथ खरेलले पनि उमेदवारीको अन्तिम समयमा माओवादी केन्द्रबाट उमेदवारी दिएका छन् । माओवादीबाट टिकट पाउने भएपछि खरेलले एमाले छाडेर कांग्रेससँगको गठबन्धनबाट उपमेयरमा उमेदवारी दिएका हुन् ।
सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले पार्टीले टिकट नदिएपछि बागी भएर उमेदवारी दिएका छन् । चौधरी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमबाट निर्वाचित भएका थिए । लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएसँगै उनी पनि कांग्रेसमा आएका थिए । कांग्रेसले उनलाई टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएका हुन् ।
सरावल गाउँपालिकाको अध्यक्षमा पार्टीले टिकट नदिएपछि एमालेका पञ्चराम चौधरीले पनि असन्तुष्ट जनाउँदै स्वतन्त्रको नाउँबाट बागी उमेदवार भएका छन् ।
प्रमुख र उपप्रमुखबाहेक पनि कांग्रेस र एमालेबाट निर्वाचित भएका धेरै स्थानीय तहका वडाअध्यक्ष र सदस्यहरुले समेत टिकट नपाएपछि केहीले दल फेरेर उमेदवारी दिएका छन् । भने केही स्वतन्त्रका नाउँमा बागी उठेका छन् । जिल्लामा ७ स्थानीय तह छन् ।
जनप्रतिनिधिबाहेक पार्टीबाट टिकट पाउने आशमा रहेका धेरै कार्यकर्ताहरुले पनि दल फेर्ने र बागीबाट उमेदवार दिएका छन् ।
एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी र नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले पार्टीको निर्देशन विपरीत जानेलाई कारबाही गरिने बताए । असन्तुष्ट जनाएर उमेदवारी दिएकाहरु पुन: फर्किनेमा आफूहरु विश्वस्त रहेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया 4