+
+

कर्णालीमा ‘टिके गठबन्धन’, बागी उम्मेदवारको घुइँचो

यज्ञ खत्री यज्ञ खत्री
२०७९ वैशाख १४ गते ७:२९

१४ वैशाख, सुर्खेत । कर्णालीमा सत्ता गठबन्धन आवद्ध पाँचवटै दलबीच प्रदेशका ७९ मध्ये ६४ पालिका बाँडफाँट गरेर साझा उम्मेदवार उठाउने निर्णय गरे पनि उम्मेदवारी दर्ताको क्रममा कार्यान्वयन हुन सकेन ।

अधिकांश पालिकामा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परेको छ भने कतिपयमा दलहरूले एमालेसँग समेत तालमेल गरे ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेत र माओवादी केन्द्रका नेता जनार्दन शर्माको गृह जिल्ला रुकुम पश्चिममा भने गठबन्धन टुटेको छ । दुवै जिल्लाका सबै पालिकामा दलहरूले एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।

प्रदेशका कतिपय पालिकामा गठबन्धनभित्र गठबन्धन गरिएको छ । सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले कर्णाली प्रदेशका आठ जिल्लामा सोमवार मात्रै जिल्लास्तरमा भागबन्डाको टुंगो लगाएर पठाएको थियो । तर, प्रदेशमा गरिएको सहमति भने पालिकामा कायम रहन सकेन् ।

दैलेखमा दलबदल गरेर उम्मेदवारी

दैलेखको नारायण नगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन दलहरूबाटै छुट्टाछुट्टै मनोनयन दर्ता भएको छ । नारायण नगरपालिकामा सत्ता गठबन्धनमा रहेका दलहरूबीच गरिएको भागबन्डा अनुसार कांग्रेसबाट मेयरमा निर्मला खड्का र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) बाट सावित्री मल्लको मनोनयन दर्ता भएको छ ।

अन्य स्थानीय तहमा गठबन्धनमा रहेका दलहरूले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् । जिल्लाको भैरवी गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसले पाउने गठबन्धन दलबीच सहमति भए पनि तीनवटै दलले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।

कांग्रेसबाट अध्यक्षमा रीता शाही र उपाध्यक्ष्मा देवी भण्डारीको उम्मेदवारी परेको छ । माओवादी केन्द्रले पनि अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएको छ । त्यस्तै एकीकृत समाजवादीका जगतप्रसाद आचार्यले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

गठबन्धनको सहमति अनुसार नौमूले गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले पाउने टुंगो लगाएको थियो । तर यहाँ कांग्रेसले उपाध्यक्षमै बागी उम्मेदवार उठाएको छ ।

अध्यक्षमा मदे बुढा मगर र उपाध्यक्षमा अंमृता सिहंले उम्मेदवारी दिए । उपाध्यक्षमा एकीकृत समाजवादीबाट गंगबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

समाजवादीबाट उपाध्यक्षमा उम्मेदवारी दिएका शाही नेपाली कांग्रेस नौमुले गाउँपालिकाको पार्टी सभापति हुन् । शाही पार्टीले टिकट नदिएपछि सोमबार नै राजीनामा दिएर समाजवादीमा लागेका थिए ।

त्यस्तै डुंगेश्वर गाँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले पाउने गठबन्धन दलबीच सहमति भएको थियो । तर, कांग्रेसले दुवै पदमा उम्मेदवारी दिएको छ । त्यहाँ कांग्रेसकी एलिजा थापाले बागी उम्मेदवारी दिएकी छिन् ।

अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेसले पाउने गठबन्धन दलबीच सहमति भएको महावु गाउँपालिकामा दुवै पार्टीले दुईवटै पदमा उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीका जंगबहादुर शाहीले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्षमा पुण्य प्रभा दशौदी छिन् । नेपाली कांग्रेसकी केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेकी दशौदी समाजवादीमा प्रवेश गरेर उपाध्यक्ष बनेकी छन् । त्यहाँ कांग्रेसबाट अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा मन्जु पाण्डेले उम्मेदवारी दिएकी छिन् ।

हुम्लाका सबै पालिकामा बागी उम्मेदवार

सात स्थानीय तह रहेको हुम्लामा ६ पालिका अध्यक्ष र ७ उपाध्यक्षमा बागी उम्मेदवारी परेको छ । ताँजाकोट गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका कर्णाली प्रदेशका सह-सचिव लालकेश जैसीले मनोनयन दर्ता गरेका छन् । स्वतन्त्र अध्यक्षमा माओवादी केन्द्रकै गोपाल बुढा र अकबिर खडकाले पनि उम्मेदवारी दिएका छन् ।

कांग्रेसका सुरेन्द्र थापा गठबन्धनका उपाध्यक्ष हुन् । तर, कांग्रेसकै तिलकबहादुर शाहीले पनि बागी उम्मेदवारी दिएका छन् ।

अदानचुली गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका मोहनबिक्रम सिहं र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकायाले उम्मेदवारी दिएका छन् । त्यहाँ कांग्रेसबाट रुष्ट रहेका लोकन्द्रबहादुर भण्डारीले स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

चंखेली गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ भने एकीकृत समाजवादीले एमालेसँग मिलेर उम्मेदवारी दिएको छ । गठबन्धनबाट माओवादीका गोविन्द्रबहादुर शाही अध्यक्ष र कांग्रेसकी मैना बुढाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

गठबन्धनसँग असन्तुष्ट बनेकी माओवादीकी प्यारीलाल शाहीले अध्यक्ष र भैरव तामाङले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यहाँ एमालेबाट अध्यक्षमा विमलाकुमारी शाही र समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै गबठबन्धन बनेका अन्य पालिकामा पनि बागीको उम्मेदवारी परेको छ । सर्केगार्ड गाउँपालिकामा कांग्रेसकै मानदेव शाही र माओवादी केन्द्रका अकिल बुढाको स्वतन्त्र उम्मेदवारी परेको छ । उपाध्यक्षमै स्वतन्त्रमा ज्योति शाहीले पनि उम्मेवारी दिएकी छन् ।

खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कांग्रेसका अंगबहादुर शाहीले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सिमकोट गाउँपालिका कांग्रेसकै नन्दबहादुर शाहीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तैगरी उपाध्यक्षमा पनि कांग्रेसकै दीपबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

नाम्खा गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट स्वतन्त्रमा सूर्य लामा, कार्मा टुण्डुप लामा र कांग्रेसकै माया लामाले मनोनयन दर्ता गराएकी छिन् ।

कालीकोटमा माओवादी र एमालेबीच तालमेल

कालीकोटमा ९ वटा पालिकामध्ये अधिकाँशमा गठबन्धनका दलहरूबीच अलग-अलग उम्मेदवारी दर्ता भएका छन् ।

रास्कोटमा गठबन्धनका तर्फबाट माओवादीका मेयरमा धर्मराज शाही र उपमेयरमा एकीकृत समाजवादीका मनिराज बरालले उम्मेदवारी दिएका छन् । तर, माओवादी केन्द्रका कालीबहादुर महतारा र हजार सुनारले रास्कोट नगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएका छन् । यहाँ कांग्रेसबाट नवराज बरालले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाको खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिका पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।

महावै गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन गरिएको छ । अध्यक्षमा माओवादी केन्द्रबाट खेमबहादुर सिंह (भिजन) र एमालेबाट उपाध्यक्षमा दानसिंह सेजुवालले साझा उम्मेदवारी दिएका छन् । माओवादी बलियो रहेको महावैमा एमालेवीच तालमेल भएको हो ।

जाजरकोटका पाँच पालिकामा भाँडियो गठबन्धन

सात वटा पालिका रहेको जाजरकोटका दुईवटा बाहेक पालिकामा गठबन्धन भाँडिएको छ । भेरी नगरपालिकामा गठबन्धनको सहमति अनुसार मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसले उम्मेदवारी दिएका छन् ।

सत्ता  गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका कमान खड्का र उपमेयरमा कांग्रेसकी सिता जैसी उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रले पनि उक्त गाउँपालिकामा गठबन्धनबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्रबाट गगन खड्काले मेयरमा र कृष्ण शर्माले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका सनद कार्कीले पनि मेयरमा बागी उम्मेदवारी दिएका छन् ।

नलगाड नगरपालिकामा कांग्रेसभित्रै किचलो देखिएको छ । माओावादीले मेयर र कांग्रेसले उपमेयर पाउने गठबन्धनबीच सहमति भए पनि कांग्रेसका तीन जनाले मेयरमा उम्मेदवारी दिएका छन् । छवि पन्त, तेज बहादुर खत्री र बिनबहादुर सिंहले मेयरमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै कांग्रेसकी सुनिता सिंहले उपमेयरमा मनोनयन दर्ता गराएकी छन् । गठबन्धनको निर्देशन अनुसार माओवादी केन्द्रबाट भने मेयरमा डमर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको कुशे गाउँपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकामा पनि सत्ता गठबन्धन दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

सल्यानमा कांग्रेस एक्लै

सल्यानका १० वटा पालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ भने कांग्रेसले सबै पालिकामा एकल उम्मेदवारी दिएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले सबै पालिकामा गठबन्धनका संयूक्त उम्मेदवार उठाएका छन् । जसअनुसार सात पालिका प्रमुख माओवादीले र तीन पालिका प्रमुखमा समाजवादीले उम्मेदवारी दिएको छ ।

माओवादीले बागचौर, दार्मा र कुमाख गाउँपालिकामा पुरै सेटमा उम्मेदवारी दिएको छ । सारदा नगरपालिका, कुपिण्डे बन्गाड नगरपालिका र कालीमाटी गाउँपालिकाको प्रमुख र अध्यक्षमा माओवादीले उम्मेदवारी दिएको छ ।

सिद्धकुमाख, छत्रेश्वरी, कपुरकोट र त्रिवेणी गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका उम्मेवारले मनोनयन दर्ता गराएका छन् ।

हिमाली जिल्लामा पनि एक्ला एक्लै

कर्णाली प्रदेशका तीन हिमाली जिल्ला डोल्पा, जुम्ला र मुगुमा सत्ता गठबन्धन दलहरूबीच तालमेल हुन सकेन् ।्

डोल्पामा बलियो देखिएको नेकपा एकीकृत समाजवादीले पुरै पालिकामा एकल उम्मेदवारी दिएपछि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले पनि आ-आफनो तर्फबाट उम्मेदारी दिएका छन् । केही पालिकामा भने एकीकृत समाजवादीले दम्भ देखाएको भन्दै समाजवादी केन्द्रविरूद्ध कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ ।

अर्को हिमाली जिल्ला मुगुमा खत्याड गाउँपालिका बाहेक अन्य तीन पालिकामा गठबन्धन हुन सकेन । नेपाली कांग्रेस बलियो रहेको मुगुमा कांग्रेसले पेलेरै जान खोजेको भन्दै माओवादी र समाजवादीले पनि एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् । मुगुमा जम्मा चार स्थानीय तह छन् ।

जुम्लाका आठवटै पालिकामा पनि सत्ता गठबन्धन दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?