
१४ वैशाख, धनकुटा । पदमा बहाल रहँदा प्रचलित ऐन भन्दा बढी सेवासुविधा लिएको भन्दै पाख्रीबास नगरपालिकाका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
नेकपा एमालेको तर्फबाट पाख्रीबास नगरपालिकाको उपमेयर पदका उम्मेदवार नम्रता देउजा गौतम र सोही पाटीबाट वडा नं. १० को वडाध्यक्ष पदका उम्मेदवार हरिहादुर खत्रीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले बताए ।
उपमेयर पदकी उम्मेदवार गौतम अघिल्लो कार्यकालमा पाख्रीबास नगरपालिकाको कार्यपालिका सदस्य थिइन् । वडाध्यक्ष पदका उम्मेदवार खत्री १० नं. वडाका निवर्तमान वडाध्यक्ष समेत हुन् । उनीहरु विरुद्धको उजुरी पत्रमा पदमा रहँदा प्रचलित ऐन भन्दा बढी सेवासुविधा लिएको आरोप छ ।
बुधबार र बिहीबार मनोनयन पत्र जाँचवुझको समय रहेको हुँदा बिहीबारसम्म उजुरीको सुनवाइ हुने कार्यालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार उजुरीमा उल्लेखित कुरा प्रमाणित भए उम्मेदवारी खारेज हुने र यदी गलत भए उम्मेदवारले क्लिन चिट पाउने छन् ।
प्रतिक्रिया 4