
१४ वैशाख, हुम्ला । नेकपा एमालेले आफूबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन ।
एमाले नेताहरुले सार्वजनिक कार्यक्रममा एकीकृत समाजवादी पार्टीको नाम उच्चारण गर्दैनन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अरु नेताहरुको चर्को आलोचना गर्छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यो चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने पटक पटक बताइसकेका छन् । उनले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेसको सहयोगी दलको आरोप लगाइरहेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले पनि एमालेको त्यत्तिकै आलोचना गर्छन् । तर शीर्ष नेताहरुको यो तिक्ततालाई बिर्सेर हुम्लाको चंखेली गाउँपालिकामा भने एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।
यी दुई दलबीचको तालमेलपछि गाउँपालिका अध्यक्षमा एमालेकी बिमलाकुमार शाही उम्मेदवार बनेकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएकी छन् । एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैन ।
सत्तारुढ गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग हुम्लाको पालिकाको भागबण्डा नमिलेपछि एकीकृत समाजवादी एमालेसँग हात मिलाउन पुगेको हो ।
एमालेबाट अध्यक्षको उम्मेदवार बनेकी शाहीले पालिकामा अरु दलसँग पनि चुनावी सहकार्यका लागि छलफल चलिरहेको बताइन् ।
चंखेली माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् ।
प्रतिक्रिया 4