+
+

एउटै पदमा फरक पार्टीबाट ज्वाइँ-जेठानबीच प्रतिस्पर्धा 

प्रकाश सिंह प्रकाश सिंह
२०७९ वैशाख १४ गते १४:२३

१४ वैशाख, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका-२ को वडाध्यक्ष पदमा ज्वाइँ-जेठानबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

ज्वाइँ डम्मरबहादुर महत नेकपा एमाले र जेठान गोपालबहादुर कार्की नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

२०७४ सालको स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका ज्वाइँ-जेठान यो पटक पनि आमने-सामने भएका हुन् । २०७४ को स्थानीय चुनावमा कार्की ६ मतले पराजित भएका थिए । महतले २४२ मत र कार्कीले २३६ मत ल्याएका थिए। हाल बडिमालिका-२ मा ८०२ मतदाता छन् ।

कार्कीकी बहिनी र महतका कान्छा भाइबीच बैवाहिक सम्बन्ध छ । २०७४ सालको स्थानीय चुनावको विषयलाई लिएर ज्वाइँ-जेठानको मुद्दा उच्च अदालत दिपायलसम्म पुगेको थियो ।

पराजित कार्कीले पुन मतगणनाको माग राख्दै उच्च अदालत दिपायलमा मुद्दा दायर गरेका थिए । पछि उच्च अदालतले मुद्दा खारेज गरेको थियो ।

कार्की नेपाली कांग्रेस बडिमालिका नगर सभापतिसमेत हुन् भने महत एमाले जिल्ला कमिटी सदस्य तथा बडिमालिका नगर इन्चार्ज हुन्।

कार्कीले एक अर्काविरुद्ध चुनाव लडेकै कारण पारिवारिक सम्बन्ध बिग्रन नहुने बताए । ‘पार्टीको निर्णय अनुसार चुनाव लड्नै परयो, खुला प्रतिस्पर्धा हो’, कार्की भन्छन्, ‘चुनाव लडेको विषयलाई लिएर पारिवारिक द्वन्द्व हुँदैन ।’

महतले पनि राजनीति र पारिवारिक सम्बन्ध फरक पाटो रहेको र चुनावले पारिवारिक सम्बन्धमा असर पर्न नदिने बताए ।

उनीहरुले यसो भने पनि २०७४ सालको चुनाव र अदालतमा मुद्दा मामिला नै भएपछि दुई परिवारबीच सम्बन्ध राम्रो नरहेको गाउँलेहरु बताउँछन् । पछि परिवारका अरु सदस्यबीच सम्बन्ध सुध्रिए पनि कार्की र महतबीचको सम्बन्ध भने त्यति सुमधुर छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?