
१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले अहिले अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । बुधबार राष्ट्र बैंकको वाषिर्कोत्सव समारोहमा बोल्दै अर्थतन्त्र समस्या रहेको र दुर्घटनामा जान सक्ने बताएका हुन् ।
तर, यो समस्या विश्वव्यापी रुपमा आएको भन्दै कुनै व्यक्तिको कारण अर्थतन्त्रमा समस्या नभएको उनले बताए । ‘अर्थतन्त्र समस्या त छ, तर कुनै एक प्रधानमन्त्री, अर्थमन्त्री, पार्टीका नेताका समस्यामा परेको होइन’ उनले भने, ‘राष्ट्र बैंकले केही गर्न सकेन भन्ने कुरा पनि गलत हो, अर्थतन्त्र कुनै व्यक्तिका कारण समस्यामा परेको होइन ।’
बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेको र यसले अर्थतन्त्र दुर्घटना उन्मुख बनेको बताए । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्ने उनले बताए ।
बजेटभन्दा व्यापारघाटा धेरै भएको भन्दै उनलेे अब उत्पादनमा जोडदिनुपर्ने बताए । समस्याको विषयमा सबै पार्टी बसेर समाधान खोज्न समेत उनको अनुरोध छ ।
गभर्नर निलम्बन प्रकरणमा उनले २० वर्षअघि आफूले जस्तै महाप्रसाद अधिकारीले न्याय पाएको बताए ।
प्रतिक्रिया 4