
१३ वैशाख, वीरगञ्ज । पर्साको पोखरिया अस्पतालमा पहिलोपटक शल्यक्रिया गरिएको छ । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर डा. सञ्जय गुप्ताको टोलीले शल्यक्रिया गरेको हो ।
वीरगञ्ज महानगरपालिका प्रसौनीविर्ता टोल बस्ने चन्द्रमाला पसवानको शल्यक्रिया मार्फत शिशु निकालिएको अस्पतालले जनाएको छ । डाक्टर गुप्तालाई डा.मोताब अन्सारी, रामाकन्त ठाकुर, निकिता शाही, सन्जु डाङीको समूहले सहयोग गरेको थियो ।
जिल्ला सदरमुकाम वीरगञ्जमा मात्रै सुविधा सम्पन्न नारायणी अस्पताल छ । मध्य भागमा पर्ने पोखरियामा पनि प्रादेशिक अस्पताल छ । भवन गतिलो भएपनि स्रोत र साधनको अभाव र फितलो व्यवस्थापनका कारण सेवा प्रवाहमा समस्या रहँदै आएको थियो ।
पोखरिया अस्पतालका लागि ०७८ मा वीरगञ्ज उद्योग वाणिज्य संघले ३५ लाख रुपैयाँ खर्च गरेर शल्यक्रिया कक्ष तयार गरिदिएको थियो । शल्यक्रिया कक्षमा टायल्स लगाउने, एसी लगाइदिने, रंगरोगन गर्ने लगायत रिनोभेटको काम संघले गरेको थियो ।
‘अस्पतालमा शल्यक्रिया कक्ष थिएन, उद्योग वाणिज्य संघसँग मिलेर ०७८ चैतमा शल्यक्रिया कक्ष तयार पारेका थियौं ,’ उनले भने, ‘म आफैं एमडीजीपी डाक्टर हो, शल्यक्रिया गर्न सक्छु । निक साइमन इन्स्टिच्युट (एनएसआई) भन्ने संस्था छ एनेस्थिया असिसटेन्ट र सहयोगी डाक्टर पनि एक जना दियो । नर्सिङ स्टाफ दुई जनाको सहयोग लिएर पहिलोपटक शल्यक्रिया गरें, सफल पनि भयो ।’
आमाको पेटमा पानीको मात्रा कम भएकोले शल्यक्रिया गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘हामीले निःशुल्क शल्यक्रिया गर्यौं, वीरगञ्ज लैजाँदा लाग्ने खर्च बच्यो भन्दै पासपान परिवारले धन्यवाद दिएर गएका छन्’ डाक्टर गुप्ताले भने ।
डाक्टर गुप्ताका अनुसार तत्कालका लागि शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपनि पछि यसलाई विस्तार गर्ने तयारी भइरहेको छ । ‘तत्काल २४ सै घण्टा शल्यक्रियाबाट प्रसूति सेवा दिन्छौं । पछि विस्तारै हाइड्रोसिल, हर्निया र एपेन्डिक्सको शल्यक्रिया गर्न सक्छौं,’ डाक्टर गुप्ताले भने ।
अस्पतालमा रक्तसञ्चार केन्द्र नभएको कारणले सेवा प्रवाह गर्न समस्या भइरहेको उनले सुनाए । ‘एक महिनादेखि तयारी अवस्था थियौं, रक्तसञ्चार केन्द्रको सुविधा नभएकोले विरामीका आफन्तले शल्यक्रिया गर्न मानिरहनुभएको थिएन । तर आज एकजनाले जरुरी पर्यो भने वीरगञ्जबाट ल्याउँछु तपाईंहरु शल्यक्रिया गर्नुस् भनेर भन्नुभयो,’ उनले भने, ‘त्यसपछि हामीले अप्रेसन गर्यौं ।’
ब्लड बैंकका लागि रेडक्रससँग कुरा गरिरहेको उनले बताए । ‘यो वर्ष बजेट छैन, अर्को आर्थिक वर्षदेखि केही गर्न सकिन्छ भनेर रेडक्रसबाट जवाफ आएको छ,’ उनले भने, ‘तत्कालका लागि अस्पतालका एक जना कर्मचारीलाई रगत संकलनको तालिम दिनु पर्यो भनेर आग्रह गरेका छौं ।’
पर्साको ग्रामिण क्षेत्रमा पर्ने पोखरिया अस्पतालको सेवा क्षेत्र ठूलो छ । पोखरिया अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा शुरु भएपछि नारायणी अस्पतालको चाप कम हुने अपेक्षा गरिएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले संघले पोखरिया अस्पतालमा गरेको सहयोगबाट राम्रो नतिजा आएको भन्दै खुसी व्यक्त गरे ।
‘पोखरिया अस्पतालमा राम्रो काम भयो, शल्यक्रिया सेवा शुरु गराउनु भन्दा राम्रो काम के नै हुन सक्छ र ?,’ उनले भने, ‘हामीले गरेको लगानीले प्रतिफल दिएको सुन्न पाउँदा एकदमै खुसी लागेको छ ।’
प्रतिक्रिया 4