
१४ वैशाख, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका छन् ।
बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय तथा मातहतका गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइन व्यवस्थित सञ्चालन र गुणस्तर प्रमाणिकरणका विषयमा आयोजित छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् ।
छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखी घटाउनुपर्ने दबाव रहेको बताए । ‘दुई महिनादेखि मैले धानको उन्नत बिउ किसानलाई बाँँढ्ने योजना ल्याउनु भनिरहेको छु । तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन’ उनले भने ।
मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बिउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहीबार पुनः छलफलमा आउन निर्देशन दिए ।
‘हामीले उन्नत जातको बिउ प्रयोग गर्यौं भने यसै वर्षदेखि कम्तीमा तीन गुणा बढी धान उत्पादन गर्ने देखिन्छ । यो काम गर्न ढिला नगरौं,’ उनले भने, ‘मंसिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन ।’
उन्नत जातको बिउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदान वापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उनले बताए ।
‘उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस, हामी दिन्छौं । थोरै पैसा खर्च गर्दा अर्बौंको चामल आयात घटाउन सकिने देखिएको छ’ अर्थमन्त्री शर्माले भने ।
छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताए । ‘सरकारले बोलाएर काम दियो भने उनीहरु उत्साहित हुन्छन्’ सचिव मरासिनीले भने ।
छलफलमा कृषि सचिव डा. गोविन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सूचीकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको बताए । धानको उत्पादकत्व औसतमा ३.५ मेट्रिक टन प्रति हेक्टर रहेको जानकारी दिंदै उन्नत जातको बिउ वितरण गरे उत्पादनमा धेरै सुधार हुने जानकारी दिए ।
प्रतिक्रिया 4