
१५ वैशाख,रोल्पा । रोल्पा नगरपालिका ८ का चित्रबहादुर डाँगी २ वटा निर्वाचनमा सहभागी भए । २०७४ सालको निर्वाचनमा वालिग भएका उनी सोही वर्षको स्थानीय तह र प्रदेश एवं संघीय निर्वाचनमा सहभागी भए । जीवनमै पहिलो निर्वाचनमा उत्साहका साथ ३ घण्टा पैदल हिंडेर मतदान स्थल पुगेको उनले आफैं भने मतदान गर्न सकेनन् । मतदान नगर्नुको कारण थियो दृष्टीविहीन । दुवै आँखाको ज्योती गुमाएका उनीले एक पटक गाउँले दाजु र अर्को पटक आफ्नै बुबालाई मतदान गर्न लगाए । आफूले रोजेको पार्टीलाई मतदान भयो कि भएन चित्रलाई अहिलेसम्म थाहा छैन ।
रोल्पा माडी गाउँपालिका ३ तालावाङका शिशिर डाँगी आसन्न स्थानीय तह निर्वाचनमा मतदान गर्न आतुर छन् । उनी पहिलो पटक मतदान प्रकृयामा सहभागी हुँदैछन् । दुवै आँखाको ज्योती गुमाएका उनी अर्काको साहारामा हिंड्डुल गर्छन् । सदरमुकाम लिवाङ बस्दै आएका उनी निर्वाचनमा सहभागिता जनाउन घर गइसकेका छन् । जीवन मै पहिलो पटक गर्न लागको मतदान आफैंले गर्न नपाउदा भने उनी खुसी छैनन् ।
चित्रबहादुर डाँगी र शिशिर डाँगी जस्ता नेत्रहीन मतदाताको साझा समस्या हो यो । लोकतन्त्रमा हरेक व्यक्तिले आफूले इच्छाएको उमेदवार गोप्यमतदानबाट छान्ने अधिकार रहन्छ । उनीहरु आफूले रोजेको उमेदवारले मत पायो की पाएन थाहा सम्म पाउँदैनन् । चित्रबहादुर भन्छन्, ‘आफ्ना नजिकका साथी-भाइ वा नातेदारलाई विश्वास गरेर मतदान गर्न दिए पनि उनीहरुले कसलाई दिन्छन् थाहा नै हुँदैन । एउटै परिवार भित्र पनि उमेदवार फरक फरक रोजाइका हुनसक्नछ एकले रोजेको उमेदवार अर्कोलाई मन नपर्न सक्छ ।’
मतदान जस्तो पवित्र कार्यमा आफैंले भोट हाल्न नपाएको नेत्रहीन संघ रोल्पाका अध्यक्ष समेत रहेका चित्रबहादुर डाँगी गुनासो गर्छन् । ‘मतपत्र अपाङ्गतामैत्री छैनन्, दृष्टिविहीनले छामेर पत्ता लगाउने ब्रेललिपीको मतपत्र भए मात्रै आफूले रोजेको उमेदवारलाई मतदान गर्न सकिन्थ्यो ‘ उनले भने ।
मतदान केन्द्र पनि अपाङ्गतामैत्री नभएको डाँगीको आरोप छ । ३ घण्टा पैदल हिंडेर मतदान केन्द्र पुगे पनि अपाङ्गतामैत्री मतदान केन्द्र, मतपत्र र अपाङ्गताहरुलाई मतदान केन्द्रसम्म सहजै पुग्ने वातावरण नभएको उनको गुनासो छ । निर्वाचनमा अपाङ्गतालाई विशेष व्यवस्था नभएसम्म अपाङ्गताहरु सहज ढंगले मतदानमा सहभागी हुन नसक्ने भन्दै मतदान केन्द्र अपाङ्गतामैत्री बनाउनुपर्ने उनको माग छ ।
डाँगीका अनुसार रोल्पामा १० हजार बढी अपाङ्गताहरु छन् । जसमध्ये १ हजार ५ सय बढी अपाङ्गता भएका मतदाता छन् । जसमा ३५० बढी नेत्रहीन, दुवै हात नभएका २ सय बढी र हिंड्डुल गर्न नसक्ने १ सय बढी मतदाता रहेका छन् । अन्य अपाङ्गतामा नबोल्ने, दुवै कान नसुन्ने र अन्य अपाङ्गता रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाको अभिलेखमा उल्लेख छ ।
प्रतिक्रिया 4