
काठमाडौं । विश्वमै सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्म ‘अवतार’को दोस्रो सिक्वेल आगामी पुस १ गते नेपालमा रिलिज हुने भएको छ । विश्वकै प्रतीक्षित फिल्मको श्रृंखला १३ वर्षपछि नेपालमा रिलिज हुन लागेको हो ।
डिज्नेले नेपाल र भारतमा फिल्मलाई एकसाथ प्रदर्शन गर्न लागेको हो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले आगामी १६ डिसेम्बर २०२२ मा फिल्म रिलिज हुन लागेको जनाएका छन् । सन् २०१४ मा रिलिज हुने भनिएपनि महामारी र प्राविधिक कारणले रिलिजमा ढिलाइ भएको थियो ।
प्रदर्शकहरुको व्यापार मेला सिनेमांकन समारोहमा फिल्मको शीर्षक, लोगो र केही फुटेज सार्वजनिक गरिएको छ । ‘अवतार २’को शीर्षक ‘अवतार : द वे अफ वाटर’ राखिएको छ ।
नेपालमा डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सको अधिकारिक बिक्रेता एप्पल इन्टरटेनमेन्ट हो । ‘अवतार’को प्रदर्शनसँगै नेपालमा थ्रीडी फिल्मको सुरुआत भएको थियो । पहिलोपटक तत्कालीन कुमारी र जयनेपाल हलमा अवतार प्रदर्शन गरिएको थियो ।
जेम्स क्यामरुन निर्देशित यो साइन्स फिक्सन फिल्मलाई यसपटक काल्पनिक पान्डोरा ग्रहको पानीमुनि छायांकन गरिएको छ । साम वर्थिङ्टन, जोय साल्दाना, स्टिफन ल्याङ, भिन डिजेल, जोएल डेभिड मुर्रे, मिचेल यो लगायतको मुख्य भूमिका छ ।
‘अवतार २’ को बजेट २५० मिलियन अमेरिकी डलर (३० अर्ब २५ करोड रुपैयाँ) रहेको भेराइटी म्यागजिनले जनाएको छ । ‘अवतार ३’ २० डिसेम्बर २०२४, ‘अवतार ४’ १८ डिसेम्बर २०२६ र ‘अवतार ५’ २२ डिसेम्बर २०२८ मा रिलिज हुने समेत जनाइएको छ ।
प्रतिक्रिया 4