
घरमा कोही पाहुना आए सबैभन्दा पहिले हामी चियाले सत्कार गर्छौं । यो नेपाली संस्कार नै बनिसकेको छ । प्रत्येक बिहानीको सुरुवात चिया पिएरै हुन्छ । दिन, साँझ र रातमा पनि चियाले साथ दिन्छ ।
घरदेखि कार्यालय होस् या सार्वजनिक समारोहमा; चिया संस्कृति मौलाएको छ । चियाको चुस्की नलिने र स्वाद थाहा नपाउने शायदै होलान् । स्वास्थ्यका दृष्टिकोणले पनि चिया राम्रो पेय पदार्थ मानिन्छ । हाम्रो देशमा उपहार स्वरुप भित्रिएको चिया विनाको दैनिकी अधिकांशलाई मुश्किल बन्छ भन्दा फरक पर्दैन ।
चिया अतिथिलाई सत्कार गर्ने पेय पदार्थ मात्र होइन; पानीपछि दोस्रो स्थानमा प्रयोगमा आउने पेय पदार्थ पनि हो । विश्वका २५ देशमा चियाको व्यावसायिक खेती हुन्छ । जसमा नेपाल १०औं स्थानमा छ ।
‘इन्टरनेशनल टी कमिटी’ को तथ्यांक अनुसार नेपालमा वार्षिक १८ मिलियन किलोग्राम चिया उत्पादन हुन्छ । विश्वमा ३६ सय मिलियन किलोग्राम ग्रीन टी उत्पादन हुन्छ भने १८ सय मिलियन किलोग्राम सीटीसी चिया उत्पादन हुने कमिटीको तथ्यांकले देखाउँछ । विश्वभरका लाखौं मानिस चिया उत्पादन, प्रशोधन र बजारीकरण लगायत व्यवसायमा संलग्न छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज २६औं राष्ट्रिय चिया दिवस मनाइरहेको छ । बोर्डले यस वर्ष ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजारः चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने नारा तय गरेको छ । नेपालमा पनि चियाको व्यावसायिक खेती हुँदै आएको छ । चिया लाखौंको जीवन धान्ने आधार बनेको छ ।
नेपालमा चिया खेतीको इतिहास हेर्ने हो भने, सबैभन्दा पहिला इलाममा चिया रोपण सुरु भएको पाइन्छ । वि.सं. १९२० मा इलाममा र त्यसपछि सोक्तिममा चिया रोपण सुरु भएको हो । नेपाल र तिब्वतको युद्धपश्चात तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कंदा तत्कालीन चिनियाँ सम्राटले चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप दिएपश्चात सो चिया इलाममा रोपिएको पाइन्छ ।
त्यसपश्चात इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापामा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको प्रारम्भ भएको देखिन्छ । तर, जहानियाँ राणाशासनको अगाडि नेपालमा सुरुवाती अवस्थामा चिया उद्योग त्यति फस्टाउन सकेन ।
व्यावसायिक खेती सुरु भएसँगै उत्पादित चिया प्रशोधन कारखानाको अभावमा दार्जीलिङकै कारखानालाई बेच्नुपर्ने अवस्था नेपाली चिया उत्पादनकर्ताको थियो । नेपालमा २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि मात्र चिया क्षेत्रमा लगानी सुरु भयो । प्रजातन्त्र आएको ९ वर्षपछि झापाको भद्रपुरमा निजी स्रोतमा बुधकरण चिया कमान स्थापना भएको हो ।
सरकारले भने वि.सं. २०२३ मा मात्र नेपाल चिया विकास निगमको स्थापना गर्यो । वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना भएको पाइन्छ ।
२०३५ सालको एक दशकसम्म नेपाल चिया विकास निगमले साना कृषकलाई पनि चिया खेतीमा लाग्न धेरै प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको थियो । यसपश्चात चिया उद्योग एक नाफामूलक व्यवसायको रूपमा चिनिन थाल्यो । यसरी चिनियाँ सम्राटले उपहारस्वरुप नेपाली प्रधानमन्त्रीलाई दिएको चियाको व्यावसायिक खेती नेपालमा भइरहेको छ ।
२०३९ सालमा तत्कालीन राजा वीरेन्द्रको शासनकालमा नेपाल सरकारले पूर्वका झापा, इलाम, पाँचथर, तेह्रथुम, धनकुटालाई चिया क्षेत्र घोषणा गर्यो । जसकारण चिया उद्योगले मुलुकको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ । यस्तै, समग्र चिया क्षेत्रको स्तरोन्नतिका लागि सरकारले वि.सं. २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना गर्यो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९-२०२० मा नेपालमा २ करोड ४१ लाख १८ हजार किलोग्राम चिया उत्पादन भयो । जसमा १ करोड ४९ लाख ७७ हजार किलोग्राम सीटीसी चिया उत्पादन भयो भने ८२ लाख ५१ हजार किलोग्राम अर्थोडक्स चिया उत्पादन भएको छ । सो अवधिमा नेपालमा ७ लाख ४५ हजार किलोग्राम ग्रीन टी उत्पादन भएको छ ।
कुल उत्पादनबाट १ करोड ११ लाख ८५६ हजार किलोग्राम चिया निर्यात भएको छ । गत आर्थिक वर्ष चिया निर्यातबाट नेपालमा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ विदेशी पैसा भित्रिएको थियो । उल्लिखित तथ्यांकबाट पुष्टि हुन्छ कि नेपालमा चिया खेतीबाट देशको अर्थतन्त्रलाई उकास्न उल्लेख्य सहयोग पुगेको छ ।
अर्थोडक्स चियाको १० प्रतिशत खपत नेपालमा हुन्छ भने ८० प्रतिशत भारत र १० प्रतिशत तेस्रो मुलुकमा निर्यात हुन्छ । बोर्डको तथ्यांक अनुसार साना किसानबाट १३ हजार ९४५ हेक्टरमा चिया खेती भइरहेको छ । नेपालमा १६ हजार भन्दा बढी चिया कृषक र ६० हजार श्रमिक चिया क्षेत्रमा आबद्ध छन् ।
नेपालको पूर्वी नाका काँकडभिट्टाबाट ८० प्रतिशत चिया निर्यात हुन्छ । तर, विगत तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने चिया निर्यात खस्कँदो अवस्थामा छ । आब २०७५-७६ देखि निर्यातमा चियालाई अलैंचीले उछिनेको देखिन्छ ।
चिया निर्यातको दोस्रो स्थानमा छ । सरकारले हरेक वर्ष बजेट भाषणमा चिया किसानलाई मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि किसानले मल नपाउँदा उत्पादनमा ह्रास मात्र आएको छैन, निर्यात पनि घटेको छ ।
चिया पर्यटनको सम्भावना
पर्यटन विकासका विभिन्न आयाममध्ये चिया क्षेत्र पनि एक हो । बेलाबखत राष्ट्रियस्तरमा टी–टुरिजमको बहस समेत चल्ने गरेको छ । चिया पर्यटन नयाँ सम्भावना भएकाले यसको अवधारणा विस्तार र प्रवद्र्धन गर्नसके पर्यटन विकासको प्रमुख मेरुदण्डको रूपमा लिन सकिन्छ । विगत केही वर्षदेखि इलाममा भने चिया पर्यटन फस्टाउँदै गएको छ ।
चिया रोपण, उत्पादन र प्रशोधनको अध्ययन तथा अवलोकनसँगै इलामको चिसो मौसममा रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक इलाम पुग्छन् । चियाको हरियालीमा रमाउन इलाम पुग्ने पर्यटकको संख्या वृद्धि भएसँगै कन्याम, श्रीअन्तु, फिक्कल, पानीटार लगायत क्षेत्रमा स्थानीयले होमस्टे समेत सञ्चालनमा ल्याएका छन् ।
चिया उत्पादन हुने जिल्लामा पर्यटकलाई चिया बगानमा हिंडडुल गराउने, आफैंले चिया टिप्ने व्यवस्था मिलाउने, चिया किसान र मजदुरसँग साक्षात्कार गराउने, चिया कारखानामा चिया प्रशोधन प्रक्रियाको अवलोकन गराउने, बगानभित्रै लाइब्रेरी निर्माण गरी टी टेष्टिङ्गको व्यवस्था गर्ने साथै चियावारी नजिकैको सूर्योदय दृश्यावलोकनको व्यवस्था र विकास गर्ने हो भने चिया पर्यटनबाट मनग्ये आम्दानी हुने देखिन्छ ।
इतिहासलाई हेर्ने हो भने चीन र जापानले चिया पर्यटन मार्फत आफ्नो देशलाई विश्वमा चिनाएका छन् । चीनको सिचुवान प्रान्तमा सबैभन्दा पहिलो पटक पत्ता लागेको चियाको बोट भएको स्थानलाई संरक्षित गरी म्युजियम बनाइएको छ । पहाडी जिल्लामा रहेको उक्त म्युजियममा बर्सेनि हजारौं पर्यटक जाने गर्दछन् ।
चीनमा मात्र होइन जापानमा पनि यसको विस्तार व्यापक रूपमा भएको छ । जापानले भने चियालाई पेय पदार्थका रूपमा मात्र नभएर सभ्यताको रूपमा लिने गर्छ । यता छिमेकी देश भारतको दार्जीलिङ, आसाम, डुवर्स लगायत क्षेत्रमा पनि यसको विकास हुँदै गइरहेको छ । चिया–पर्यटन प्रवद्र्धनको प्रारम्भ चीनबाट भएपछि विश्वका अन्य राष्ट्रले पनि यसबाट ठूलो आर्थिक उन्नति हात पारिसकेको पाइन्छ ।
चिया पर्यटनको विकाससँगै सम्बन्धित क्षेत्रको ग्रामीण पर्यटनको विकासमा सघाउ पुर्याउन सक्ने भएकोले सम्बन्धित निकाय र सरोकारवालाले यसबारे जागरुक हुन जरूरी देखिन्छ । चियाबाट देशको अर्थतन्त्रको विकाससँगै पर्यटन प्रवद्र्धनको माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्न सकिने व्यवसाय भएकाले चिया पर्यटन विकासका लागि सरकारी निकायको लगानी आवश्यक छ ।
प्राविधिक अभाव : दुर्भाग्य
नेपालमा चिया क्षेत्रको दुर्भाग्य भनेको प्राविधिक अभाव हो । देशमा चिया शिक्षा नभएकै कारण किसान नै प्राविधिक बन्ने गरेका छन् । चिया प्राविधिक नहुँदा व्यवसाय विस्तार पनि न्यून मात्रामा हुँदै आएको छ ।
नेपाल सरकारले २०६८ सालदेखि झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा चिया प्रविधि तथा व्यवस्थापनको पठनपाठन सुरु भने गर्यो । तर, मुलुकको एकमात्र चिया प्रविधि तथा व्यवस्थापन विषयको पठनपाठन सुरु भएको तीन वर्ष नबित्दै बन्द भयो । झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरमा २०६८ सालदेखि पढाइ सुरु भएको चिया अध्ययन संस्था विश्वविद्यालयले आवश्यक सहयोग नगरेकै कारण बन्द हुन पुग्यो ।
क्याम्पस प्रशासनले पहल गर्न नसक्नु पनि चिया शिक्षा बन्द हुनुको अर्को कारण हो । क्याम्पसले चिया शिक्षा अध्ययन सुरु गर्ने योजना बनाए पनि विश्वविद्यालयमा चियाको पाठ्यक्रम भने थिएन । तत्कालीन क्याम्पस प्रमुख चिन्तामणि दाहालको पहलमा विश्वविद्यालयले चिया शिक्षा अध्ययनको पाठ्यक्रम २०६७ सालमा निर्माण गरेको थियो ।
क्याम्पसले चिया शिक्षा साथै चिया अनुसन्धान केन्द्र निर्माणका लागि भनेर एक बिघामा चिया समेत लगाएको थियो भने, थप एक बिघामा चिया लगाउने तयारी गरेको थियो । क्याम्पसले विश्वविद्यालयसँग तीन जना प्राध्यापकको दरबन्दी माग गरे पनि त्रिभुवन विश्वविद्यालयले स्वीकृति दिएन । विश्वविद्यालय, क्याम्पस प्रशासन र सरकारको असहयोगकै कारण मेची बहुमुखी क्याम्पसमा सञ्चालित चिया शिक्षा बन्द भएको हो ।
चिया प्रविधि विषय अध्ययनका लागि बढी रकम लाग्ने र स्नातकोत्तर अध्ययन गर्ने व्यवस्था नेपालमा नहुनाले पनि विद्यार्थी समस्यामा थिए । पढाइ सुरुका वर्षमा विद्यार्थीको आकर्षण बढेको थियो । कक्षा सञ्चालनको वर्षमा २४ जना विद्यार्थीको कोटामा ५५ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए ।
चिया प्रविधि तथा व्यवस्थापन पढ्नका लागि झापा बाहेकका जिल्लाबाट आउने विद्यार्थीको संख्या अझै धेरै थियो । चिया शिक्षालाई निरन्तरता दिन नसकेको कारण पनि चिया क्षेत्रको प्रवद्र्धनमा समस्या रहेको देखिन्छ ।
तीन शैक्षिक सत्र पढाइ भएको चिया शिक्षाबाट क्याम्पसले ३६ जना चिया प्राविधिक उत्पादन गर्यो । ती उत्पादन अहिले चिया तथा कफी विकास बोर्ड लगायतका चियासँग सम्बन्धित क्षेत्रमा कार्यरत रहेका छन् ।
छिमेकी देश भारत, चीन साथै बंगलादेश, श्रीलंका, जापान, केन्या, ताइवान लगायत देशले विश्वविद्यालय मातहत नै चिया शिक्षा अध्ययन केन्द्र सञ्चालनमा ल्याएका छन् । तर, नेपालको प्रमुख नगदेबालीका रूपमा रहेको चियाको अध्ययन केन्द्र बन्द हुनु नेपाली चिया कृषकका लागि दुर्भाग्य हो ।
‘ट्रेडमार्क’ : सुधारको संकेत
चिया तथा कफी विकास बोर्डले निर्देशिका अनुसार मापदण्ड पूरा गरेका २४ वटा चिया कम्पनीलाई ट्रेडमार्कका लागि अनुमति दिएको छ । वि.सं. २०७७ असोजमा तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले १२ वटा चिया उद्योगलाई ट्रेडमार्क प्रमाण पत्र उपलब्ध गराएका थिए ।
चिया तथा कफी विकास बोर्डले गत वर्षको साउनमा थप १२ वटा चिया उद्योगलाई ट्रेडमार्कका लागि अनुमति दियो । ट्रेडमार्क चिया क्षेत्रमा भएको एक महत्वपूर्ण सुधारको संकेत भए पनि विदेशी मुलुकले ट्रेडमार्कलाई मान्यता दिएका छैनन् ।
जसकारण नेपाली अर्थोडक्स चिया ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयन’ नामक राष्ट्रियता झल्कने लोगोसहित विश्वबजारमा पठाउने व्यवस्था कार्यान्वयनमा चुनौती देखिएको छ । सम्बन्धित मुलुकमा दर्ता गरेर स्वीकृति पाएपछि मात्र कार्यान्वयनमा आउने हुनाले ट्रेडमार्क प्रक्रिया निकै झन्झटिलो बनेको छ ।
युरोपले भने नेपाली चियाको ट्रेडमार्कलाई भौगोलिक क्षेत्र विशेषलाई मात्र संकेत गरेको भन्दै पुनः अपीलको आग्रह गरेको छ । कृषकले पनि ट्रेडमार्कको फाइदा उठाउन सकिरहेका छैनन् ।
नेपालमा संघीयताको अभ्यास पनि सुरु भइसकेको छ । झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभालगायत पूर्वी जिल्ला चिया उत्पादनको केन्द्र भएकाले चिया प्रबर्द्धनका लागि प्रदेश–१ मा छुट्टै चिया विकास मन्त्रालयको व्यवस्था गर्नुपर्ने देखिन्छ । हामीले चिया सम्बन्धी विश्वले गर्दै आएका अभ्यासलाई अनुकरण गर्नसके चिया फाइदाजनक व्यवसायका रूपमा स्थापित हुनेछ ।
प्रतिक्रिया 4