
१५ वैशाख, काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।
आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको र हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।
मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्दै देशभरबाट बिहीबार ३:३० बजेसम्म एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । जसमा प्रमुखमा ३ हजार ५१०, अध्यक्षमा ३ हजार ३८७, उपप्रमुखमा २ हजार १६८, उपाध्यक्षमा २ हजार ४०१, वडाअध्यक्ष ३५ हजार ३५३, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।
मतदान तथा निर्वाचनको काम गर्न २८ वैशाखदेखि ३० वैशाखसम्म मतदान स्थल र मतदान केन्द्र रहेका विद्यालयमा तीन दिनसम्म भौतिक रुपमा पठनपाठन बन्द गर्न सरकारसँग अनुरोध गर्ने निर्णय भएको आयोगले जनाएको छ । तीन दिन ती विद्यालयमा वैकल्पिक विधिबाट अध्ययन गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ ।
साथै मतदान केन्द्रका रुपमा प्रयोग हुने भवन उपलब्ध गराउन निर्वाचन आयोगले सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
मतदानका दिन देशभर सार्वजनिक बिदा दिन मुख्यसचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको आयोगले जनाएको छ ।
प्रतिक्रिया 4