+

स्क्रिनकै कारण आँखामा गम्भीर रोग लाग्दैन

२०७९ वैशाख  १५ गते १८:२७ २०७९ वैशाख १५ गते १८:२७
स्क्रिनकै कारण आँखामा गम्भीर रोग लाग्दैन

सामान्यतः एक जना व्यक्तिले दिनमा औसत कति समय मोबाइलको स्क्रिन हेरिरहेको हुन्छ ? कति समय ल्यापटप वा कम्प्युटरको स्क्रिन अघिल्तिर बस्छन् ? यसको ठ्याक्कै हिसाबकिताब नहोला । यद्यपि, अहिले अधिकांश व्यक्ति कुनै न कुनै रुपमा स्क्रिनसँग नजिक छन् ।

चाहे फोन गर्दा होस् वा युट्युब, टिकटक चलाउँदा मानिसहरु मोबाइलको स्क्रिनमा जोडिएकै हुन्छन् । कोरोना महाव्याधिपछि विद्यालयको पठनपाठनसमेत मोबाइलको माध्यमबाट भयो । यसरी बालबालिका पनि स्क्रिनको सम्पर्कमा आए । डिजिटलाइज्डको यो युगमा धेरैजसो मान्छे कम्प्युटरबाटै आफ्नो दैनिक काम-व्यवहार चलाइरहेका छन् । यी सबैको एकमुष्ट निचोड के हो भने हामी कुनै न कुनै रुपमा स्क्रिनमा जोडिएका छौं ।

स्क्रिनको सोझो प्रभाव आँखामा पर्ने नै भयो । स्क्रिनमा लामो समय काम गर्ने, मोबाइलमा हेरिरहने, लामो समय टीभी हेर्ने र कम्प्युटरमा लामो समय बिताउनेलाई कहिलेकाहीं आँखा बिझाउने, आँखा धमिलो भए जस्तो हुने, रिंगटा लाग्ने, आँखाबाट आँशु आउने र आँखा पोल्ने जस्ता लक्षण पनि देखिन थालेको छ, जसलाई कम्प्युटर आई सिन्ड्रम भनिन्छ ।

हामीले सामान्यतः एक मिनेटमा १५ देखि २० पटक आँखा झिमझिम गरेका हुन्छौं । यो एउटा प्राकृतिक प्रक्रिया हो । आँखा झिम्काएको बेलामा आँखाको माथि भएको आँशुले नानीलाई भिजाउँछ, जसले गर्दा आँखालाई चलाउन सजिलो हुन्छ । यसले आँखाको नानीलाई अक्सिजन पनि दिन्छ । तर स्क्रिनमा हेरेको बेलामा भने हामीले एक मिनेटमा दुई तीन पटक मात्र आँखा झिम्काउँछौ । यति थोरै पटक आँखा झिम्काउँदा आँशुको कमी हुन्छ र आँखा सुख्खा हुन्छ । लामो समय स्क्रिनमा बिताउँदा आँखामा देखिने असर भनेको सुख्खापन हो । यो सुख्खापनले आँखामा त्यस्तो डरलाग्दो असर भने गरेको देखिएको छैन ।

स्क्रिनले आँखा खत्तम बनाउँछ ?

विभिन्न प्रकारका किरणहरू जस्तै पराबैजनी किरण र स्क्रिनबाट निस्कने निलो किरणहरूले केही मात्रामा सामान्य असर गर्छ । तर यसबारे केही भ्रमहरू पनि छन् । स्क्रिनमा धेरै समय बिताउने व्यक्तिहरूमा आँखाको रोग देखापर्छ भन्नु गलत हो । स्क्रिनमा लामो समय बिताउँदा सुख्खापना बढ्न सक्छ, स्क्रिनकै कारण आँखा कमजोर हुने होइन ।

धेरै अभिभावकहरू आफ्नो बालबालिकालाई लिएर मेरो क्लिनिकमा आउँछन् । बच्चामा चस्मा लगाउनुपर्ने समस्या देखापर्‍यो भने उनीहरू भन्ने गर्छन्, ‘मेरो बच्चा धेरै समय कम्प्युटर र मोबाइलमा टाँसिएको हुन्छ, यसले आँखा खत्तम पारिसक्यो ।’  तर स्क्रिनमा धेरै समय बिताएको कारणले आँखाको पावरमा कुनै असर गर्दैन यो कुरामा सबै जना क्लियर हुनुपर्छ । आँखाको पावर प्राकृतिक रूपमा परिवर्तन हुने गर्छ स्क्रिनसँग यसको खासै विशेष नाता छैन ।

लामो समय मोबाइलको प्रयोगले उमेर बढ्दै जाँदा आँखाको पछाडि पर्दामा (म्याकुलर डिजेनरेसन) आँखा कमजोर हुने रोग लाग्छ कि भन्ने कुराको अनुमान गरिएको छ । तर यो पनि अनुसन्धान भइरहेको विषय हो, प्रमाणित भइसकेको छैन ।

स्क्रिनले अन्धोपन ल्याएको छैन

स्क्रिनको लामो समय प्रयोग गर्ने व्यक्तिहरूलाई पछि गएर कुनै समस्या देखियो भनेर अहिलेसम्म प्रमाणित भएको छैन । (म्याकुलर डिजेनरेसन)को बारेमा अध्ययन भइरहेको छ । तर अन्धोपन नै ल्याउने खल्को वा भनौं आँखामा गम्भीर खालको रोग लाग्छ भनेर कुनै अनुसन्धानले पत्ता लगाएको छैन ।

अहिलेको डिजिटल वर्ल्डमा आफ्नो बालबालिकालाई आँखा बिग्रन्छ भनेर कम्प्युटर, मोबाइल जस्ता डिजिटल डिभाइसबाट टाढा राख्छु भन्नु गलत हो । डिजिटल डिभाइसबाट नै उनीहरूले धेरै कुरा सिकिरहेका हुन्छन् । उनीहरूको जमानामा यसको ज्ञानबिना उनीहरू प्रतिस्पर्धामा जान सक्दैनन् । त्यसैले मोबाइल बन्द गर, टीभी बन्द गर भन्नुभन्दा उनीहरूलाई ठूलो मान्छेलाई सम्झाए जसरी नै सम्झाउनुपर्छ । स्क्रिनमा लामो समय बिताउँदा आँखाको साथसाथै दिमागमा पनि केही असर पर्छ, त्यसैले बिस्तारै उनीहरूको स्क्रिन टाइमलाई घटाउनु उपयुक्त हुन्छ ।

स्वस्थ आँखाको लागि २०-२०-२० नियम

लामो समय मोबाइल तथा कम्प्युटरमा काम गर्ने व्यक्तिहरूले २० को नियम लागु गर्नु एकदमै उपयुक्त हुन्छ । जसको अर्थ हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने ।

कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिले दुईदेखि तीन घण्टाको अवधिमा कम्तीमा २० मिनेट जति ब्रेक लिन पनि जरुरी छ । बेलाबेलामा आँखा झिम्काउन पनि बिर्सन हुँदैन ।

स्क्रिनले सुख्खापन

आँखा बिझाउने, थकान महसुस हुने, आँखा धमिलो हुने, आँखा पोल्ने, टाउको दुख्ने, रिंगटा लागे जस्तो हुने र आँखा धमिलो भएर एउटा कुरालाई दुईवटा देख्ने जस्ता लक्षण आँखा सुख्खा हुने सुरुवाती लक्षण हुन् ।

रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उचित हुन्छ । त्यसैले आँखालाई सुख्खापनबाट बचाउन २०-२०-२० नियम अपनाउनुपर्छ । दुई घण्टामा एकपटक ब्रेक लिनुपर्छ ।

कुर्सीमा बसेर लामो समय कम्प्युटरमा काम गर्ने व्यक्तिहरूले कुर्सीको पोजिसनमा ध्यान दिनुपर्छ । कम्प्युटर स्क्रिनलाई आँखाभन्दा अलिकति तलको लेबलमा राख्नुपर्छ र कम्प्युटरलाई एक हातको दूरीमा राख्नुपर्छ । अर्को महत्वपूर्ण कुरा कम्प्युटरको ब्याग राउण्ड लाइट धेरै चम्किलो धेरै मधुरो बनाउनु हुँदैन, ठिक्क बनाउनुपर्छ ।

स्क्रिनको प्रयोगले आँखा एकदमै सुख्खा भयो भने हामीले डाक्टरको सल्लाह लिएर राम्रो गुणस्तरको नक्कली आँशुको प्रयोग पनि गर्न सक्छौं । स्क्रिनमा लामो समय काम गर्ने व्यक्तिले ब्लु कट चश्माको पनि प्रयोग गर्न सक्छन् । ब्लु किरणहरूलाई त्यसले रोक्ने भएकाले चश्मा लगाउनु फाइदाजनक नै हुन्छ ।

प्रदूषणको असर आँखालाई

आँखा सुख्खापनको समस्या अहिले सबै उमेर समूहलाई देखिएको छ । आँखामा देखिने सुख्खापन लगायतका विभिन्न समस्या स्क्रिनको कारणले मात्र हैन वातावरण प्रदूषणको कारणले पनि बढिरहेको छ । प्रदूषणको कारणले पनि आँखा पोल्ने, बिझाउने लगायतका समस्या देखिन्छन् ।

आँखाको लागि स्वस्थ खानपान

हाम्रो सम्पूर्ण स्वास्थ्यको लागि खानपान एकदमै महत्वपूर्ण हुन्छ । आँखाको लागि पनि सन्तुलित आहार एकदमै महत्वपूर्ण हुन्छ । पोषणयुक्त सन्तुलित आहार नै आँखाको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । विशेषगरी हरियो सागपात र हरियो तथा पहेंलो फलफूल आँखाको स्वास्थ्यका लागि राम्रो हुन्छ । हरियो सागपात र फलफूलमा  भिटामिन ए, लुटेन, र जेक्सानथिन जस्ता धेरै पोषक तत्वहरू हुन्छन्, जुन आँखाको लागि राम्रो हो ।

(वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

आँखा डा. सन्दुक रुइत स्क्रिन
लेखक
डा. सन्दुक रुइत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?