
हरिकृष्ण व्यञ्जनकार ललितपुर महानगरको प्रमुखका लागि नेकपा एमालेका तर्फबाट प्रत्यासी हुन्। दोस्रो पटक त्यही पदका लागि चुवानी मैदानमा उत्रिएका उनी यसपटक भने आफ्नो जित निश्चित भएको दाबी गर्छन् ।
महानगरका भित्रका सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा र स्वाथ्यमा सुधार लगायतका विषयलाई प्राथमिकतामा राखेका उनी जिम्मेवारी पाए पाँच वर्षमा ती क्षेत्रमा आफूलम परिवर्तन गर्ने दाबी समेत गर्छन ।
प्रस्तुत छ, उनीसँग अनलानखबरकर्मी रघुनाथ बजगाईं र रामकुमार डिसीले गरेको कुराकानीको सम्पादित अंश :
एउटै जिम्मेवारीमा दोहोर्याएर उम्मेदवारी दिनुभएको छ । पुनः आफैंले अवसर पाउनुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?
२०४३ सालदेखि यो महानगरपालिकासँग सम्बन्धित रहेर काम गर्दै आएको छु । २०४९ सालमा नगर कमिटी सचिव भएर काम गरें भने २०६६ मा जिल्ला उपाध्यक्ष र २०६९ मा अध्यक्ष भएर ।
जनप्रतिनिधि नभएका बेला पनि म पार्टीका तर्फबाट नगरको बोर्डमा प्रतिनिधित्व गर्थें । मलाई महानगरबारे समग्र रूपमा थाहा छ । मैले नगरपालिकावासीको लागि गरेको सेवाकै कारण २०७४ सालमा पार्टीले टिकट दियो । अहिले पनि सर्वसम्मत ढंगले मलाई पार्टीले टिकट दिएको छ । यो भनेको नगरपालिकाप्रति मेरो योगदान र तपस्याको फल हो ।
महानगर प्रमुखको रूपमा तपाईंका प्रमुख तीन प्राथमिकता के–के हुन् ?
यो सांस्कृतिक महानगर हो । हामी यसलाई समृद्ध सांस्कृतिक महानगर बनाउन चाहन्छौं । समृद्ध भन्नाले भौतिक विकास, शिक्षा र स्वास्थ्यसँगै व्यवहार र सोचमा पनि विकास हो । हामी शिक्षामा आमूल परिवर्तन ल्याउँछौं । स्वास्थ्यमा पनि फड्को मार्छौं ।
ललितपुरको विशिष्ट सांस्कृतिक पहिचानलाई संरक्षण गर्न तपार्ईं के गर्नुहुन्छ ?
ललितपुर विश्वको दुर्लभ शहर हो । विश्वमा सबैभन्दा लामो यात्रादेखि जात्रासम्म यहीं हुन्छ । तान्त्रिक, कार्तिक नाच, खड्ग जात्रा, भोटो जात्रा यहीं हुन्छ । विश्वमा कहीं नभएका सम्पदा यहीं छन् ।
महानगर भएपछि जोडिएका खोकना, बुङमती, सुनाकोठी, धापाखेल, हरिसिद्धिले थप विशाल भएको छ । त्यहाँका अनौठा लाग्ने तान्त्रिक अभ्यासलाई हामी बचाउँदै थप समृद्ध पार्न चाहन्छौं । १९९० सालमा ध्वस्त भएका मन्दिरहरू बनाउन अझै बाँकी छन् । ती मन्दिरहरू हामी बनाउँछौं । पुर्खाले सुम्पेर गएका सम्पदालाई हामी अझ समृद्ध ढंगले अगाडि बढाउन चाहन्छौं ।
ललितपुर कलाको नगरी हो । नेपालभरिको ठूलो हस्तकला केन्द्र यही नै हो । यहाँ भइरहेका हस्तकलाका कामहरूलाई थप प्रभावकारी ढंगले अगाडि बढाउँछौं । पुस्तौंपुस्तादेखि हुँदै आएको हस्तकलाको कामबाट नातिपुस्ता केही विरक्तिएको देखिन्छ ।
मारवाडीले पुस्तौंदेखि गर्दै आएको काम नातिपुस्ताले पनि अझ नयाँ ढंगले सोचेर विदेशमा समेत बजार खोजिरहेका छन् । यसरी नै हाम्रो नयाँ पुस्ताले काम गर्नुपर्छ । नयाँ डिजाइन बनाएर विदेशमा बजार खोजोस्, जसबाट रोजगारी बढ्नुका साथै बजारको क्षेत्र पनि विस्तृत हुँदै जान्छ ।
लुम्बिनी विश्वविद्यालय अन्तर्गत सुरु भएको ‘क्राफ्ट क्याम्पस’लाई हामी विकास गर्न चाहन्छौं । काठमाडौंको मेयरले ४० लाख दिंदा ललितपुरको मेयरले एक प्रतिशत पनि दिएनन् । त्यसैले हामी यसको विकास गर्न चाहन्छौं ।
महानगरका नागरिकले शिक्षा र स्वास्थ्यमा धेरै खर्च गर्नुपरिरहेछ । यो क्षेत्रमा परिवर्तन ल्याउने तपाईंको योजना के हो ?
२०३७ सालदेखि शिक्षण पेशा अँगालेको मेरो इतिहास छ । २०४० मा श्रमिक शान्ति स्कुल च्यासलको प्रधानाध्यापक रहँदा जम्मा २०० विद्यार्थी र १२ वटा मात्रै कक्षाकोठा थिए । सरकारी विद्यालयमा भवन छ, राम्रो पढाइ हुँदैन । तर, भाडामा लिएर चलाएको निजी स्कुलमा राम्रो पढाइ हुन्छ ।
मलाई सरकारी स्कुल सुधार्नुपर्छ भन्ने लाग्यो । सरकारी स्कुलमा भवन, शिक्षक र स्रोतसाधन सबै छ । मैले त्यहाँ अंग्रेजी माध्यममा पढाइ सुरु गरें । २०५२ सालमा आएर दश कक्षासम्म अंग्रेजी माध्यम भयो । पछि मैले त्यहाँको विद्यालय व्यवस्थापन समितिको सदस्य हुँदै अध्यक्षसम्म भएर काम गरें ।
२०४८ सालमा मैले त्यो स्कुल छोड्दा विद्यार्थी १५०० पुगिसकेका थिए भने ५५ वटा कोठा बनिसकेका थिए । कोरोना महाव्याधि अघि त विद्यार्थीको चाप बढेर भर्ना नै बन्द गर्नुपर्यो । हामी अन्यत्र पनि यस्तै आकर्षक स्कुल बनाउन चाहन्छौं ।
विदेशमा सरकारी स्कुलमा भर्ना नपाए मात्रै बोर्डिङमा जान्छन् । हाम्रो उल्टो अवस्था छ, यसलाई बदल्नुपर्छ । पूर्वाधारदेखि गुणस्तरीय पढाइले सरकारी स्कुल राम्रो हुन्छ । दिल्लीमा आम आदमीले सामुदायिक शिक्षा सुधार्दा बोर्डिङ सुकिरहेको छ । मलाई धेरै शिक्षाविद्ले यो क्षेत्रमा सुधारका लागि दिएका सुझावमा काम गरेर शिक्षामा आमूल परिवर्तन गर्न चाहन्छौं ।
हामी ७० वर्ष नाघेकालाई निःशुल्क उपचार गर्न चाहन्छौं । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन अहिले वडामा भएका स्वास्थ्य केन्द्रलाई निकै प्रभावकारी बनाएर औषधि र नियमित जाँचको व्यवस्था गर्छौं । नियमित स्वास्थ्य जाँच गर्यो भने कुनै पनि रोग सुरुमै पत्ता लाग्छ र सजिलै औषधि उपचार हुन्छ भन्ने चेतना जगाउँछौं ।
जंक फुड खाने विदेशीहरू रोगी हुन्छन्, तर नियमित स्वास्थ्य जाँचका कारण सुरुमै रोग पत्ता लगाउन सक्छन् । हामी महानगरमा नियमित र पूर्ण स्वास्थ्य परीक्षण अनिवार्य गर्छौं ।
तपाईं निर्वाचित भएपछि नागरिकले अनुभूत गर्ने तीन कुरा के–के हुनेछन् ?
भौतिक पूर्वाधारमा परिवर्तन हुनेछ । २०८४ को वैशाखसम्ममा यहाँका सबै बाटो पक्की हुनेछन् । आवश्यकता अनुसार ढुंगा छाप्ने, ब्लक छाप्ने, ढलान र पिच गर्ने काम र सबै सडक प्रविधिमैत्री हुनेछन् । सडकमा मुख्यमुख्य ठाउँमा जडान गरिने सिसी क्यामेराबाट वडाध्यक्षले बाटोको अवस्था पत्ता लगाउने छन् । खानेपानीको समस्या पूर्ण रूपमा समाधान गर्नेछौं ।
अहिले महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा प्रति वर्ष १५/२० करोड खर्च गरिरहेको छ । अहिले ५ करोड लगानीको मेसिन हुन्छ, जसले दिनको १० टन फोहोर प्रशोधन गर्छ ।
यसबाट ग्याँस, विद्युत् र मल निस्कन्छ । हामी भन्नेछौं– ‘फोहोर लिएर आउनुस्, मल लिएर जानुस् ।’ त्यस्तै, महिला, वृद्धवृद्धा, अपाङ्गता भएका नागरिकमैत्री सामाजिक सेवाका काम अगाडि बढाउनेछौं ।
तपाईं आबद्ध पार्टीका सदस्य बाहेक अरूले तपाईंलाई किन मत दिने ?
स्थानीय निर्वाचनमा उम्मेदवारको व्यक्तित्व, उसको काम, पहुँचको अवस्था हेरिन्छ । मैले गरेको कामबारे सारालाई थाहा छ । मैले विगतमा विकास निर्माण, स्वास्थ्य र भौतिक पूर्वाधार, शिक्षा लगायत क्षेत्रमा काम गरेको छु । जनतालाई परेको समस्यामा नजिक रहेर काम गरेको छु । सत्तामा नभए पनि मैले यो गरिरहेको छु ।
राजनीतिलाई जनसेवा नै मान्ने हो भने चुनावमा जित/हार जे भए पनि जनताको सेवा गर्न सकिन्छ । २०७४ मा मेयरमै उपविजेता भए पनि उठाएका एजेण्डाहरू कार्यान्वयन गराउन पहल गर्नुभयो ?
धेरै पहल गर्यौं । २०७५ सालमा अर्थमन्त्रीले बजेटमा वृद्धभत्ता यथावत् राखे । हामीले महानगरपालिकाबाट भए पनि वृद्धभत्ता बढाउनुपर्छ भन्यौं र यहाँबाट पास पनि भयो । पछि अरूले जस लिन खोजे पनि दबाव हामीले दिएका थियौं ।
पूर्वाधारको विषयमा पनि धेरै काम गरेका छौं । हामीले जितेका ठाउँमा पनि काम राम्रै भएको छ । तर यसलाई सघाउन आनाकानी भयो । २०७४/७५ मा वागमती गाउँपालिकाले एउटा वडालाई एक करोड दिंदा ललितपुर महानगरपालिकाको वडालाई ७०/७५ लाख मात्रै दिइयो । १५ करोड आफैंसँग राख्यो तर तल पैसा दिइएन । हामीले निरन्तर खबरदारी गर्यौं ।
अन्तिम वर्ष हरेक वडाले ५ करोड मागौं भन्यौं । न माग्नेले पनि आँट गरे, न महानगरले दियो । ६ अर्ब बजेटमा एउटा वडालाई ५ करोड दियो भने एक अर्ब ४५ करोड मात्रै हुन्छ । वडालाई राम्रो बजेट दिंदा विकास हुन्थ्यो । हामीले जितेपछि वडालाई स्रोतसाधन र अधिकारसम्पन्न बनाउँछौं ।
महानगरवासीले उठाइरहेको भ्रष्टाचारको प्रश्नलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने हाम्रो नीति छ । कर्मचारीलाई कामको आधारमा सुविधा दिन्छौं, भ्रष्टाचार गरेको थाहा पाए कारबाही गरिहाल्छौं । एक जना इन्जिनियरले कति वटा जाँच पास इस्टिमेट गर्यो, लेखापालले कति वटा बिल काट्यो र दर्ता चलानीमा बस्नेले कति वटा दर्ता चलानी गर्यो जानकारी भइहाल्छ । त्यहीअनुरुप व्यवहार गर्छौं ।
उद्योग वाणिज्य महासंघको जिल्ला अध्यक्ष भइसकेका एकजना साथीले भने, ‘मैले एउटा निर्माण सम्पन्नको लागि ५० हजार दिएर आएँ ।’ त्यति सचेत मान्छेसँग त्यस्तो भयो भने सामान्य नागरिक कति प्रताडित भएको होला ? यस्ता सन्दर्भ धेरै छन् ।
सुशासनका लागि कर्मचारीलाई समयमा आउने–जाने र काम अनुसारको सुविधा दिनुपर्छ । तलब भत्ता बढाइदिएर भए पनि जनताले सहज सेवा पाउनुपर्छ । सुशासनका लागि यही बुझाइलाई कार्यान्वयन गर्नेछु ।
ललितपुरलाई चिन्ने र चिनाउने विशेषता धेरै छन् । तपाईंको नजरमा मुख्य तीन विशेषता के हुन् ?
पहिलो– ललितपुर कला संस्कृतिबाट संसारभर चिनिएको छ । दोस्रो– हाम्रा पुर्खाले बनाएको काठमाडौं नजिकको सुव्यवस्थित शहर अहिले केही बिग्रिएको छ । यसलाई व्यवस्थित गर्छौं । उपयुक्त ढल निकास, वृक्षरोपण, वातावरण संरक्षणमा ध्यान दिनुपर्छ । यसलाई विदेशी पाहुनाले मन पराउँछन् ।
तेस्रो– धार्मिक सद्भाव । मलाई काठमाडौंको एउटा साथीले भन्यो– ‘काठमाडौं त बिग्रिसक्यो । ललितपुरमा अझै चोक र चौताराहरू छन्, जहाँ बसेर खान, रमाइलो गर्न र धार्मिक कार्य गर्न सकिन्छ । त्यसलाई बचाउनुस् ।’ हो, स्थानीय बासिन्दाहरू मिलेर सांस्कृतिक पर्वहरू जोगाउनु ललितपुरको विशेषता हो । यो अभ्यासलाई हामी थप समृद्ध बनाउँछौं ।
मतदातासँग धेरै विकल्प छन् । तपाईंलाई नै भोट किन दिने ?
भर्ना गर्नुअघि कलेजले प्रवेश परीक्षा लिन्छ, सर्टिफिकेट हेर्छ । उत्कृष्टताको आधारमा भर्ना किन लिन्छ ? मलाई भोट दिने कुरा पनि यस्तै हो । मैले गरेका राम्रा काम, सेवा र मेरो भिजनलाई हेरेर मतदाताले मलाई रोज्नुहुन्छ । म अध्यक्ष बन्दा श्रमिक शान्ति स्कुल च्यासलको अवस्था खराब थियो ।
सघाउन आएको एकजोडी जापानिजसँग हामीले सुरुमै शौचालय माग्यौं । प्राप्त भएको एक लाख २० हजार सहयोगबाट दीर्घकालीन सोचसहित राम्रो शौचालय बनायौं । हाम्रो नमूना काम देखेर रातो बंगला र अरू स्कुलहरू ट्वाइलेट बनाउन त्यहाँ हेर्न आउँथे । म ५० वर्ष पछिलाई सोचेर काम गर्छु, मेरो दिगो विकासको भिजनलाई मतदाताले मन पराउनुहुन्छ ।
जनताका बीचमा प्रवेश परीक्षा दिइसक्नुभयो, रिजल्ट पाउने चुनावमा हैन त ?
प्रवेश परीक्षा दिइसकेको छु । नतिजा पाउने त चुनावमै हो । मलाई पूर्ण विश्वास छ, ललितपुरवासीले मेरो काम र पार्टीको नीति हेरेर मलाई विजयी गराउँदै थप सेवा गर्ने अवसर दिनुहुनेछ ।
प्रतिक्रिया 4