
१५ वैशाख, बझाङ । १२ वटा स्थानीय रहेको बझाङमा प्रमुख (मेयर–अध्यक्ष) पदका लागि ५२ जना उम्मेदवार मैदानमा छन् ।
तर त्यसमध्येमा एक मात्र महिला छिन् । उनी हुन धनदेवी कुँवर ।
जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार १ हजार ३१८ जनाको उम्मेदवारी परेको छ । २ वटा नगरको प्रमुखमा ८ जना र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ४४ जना र उपाध्यक्षमा ३२ जनाको उम्मेदवारी परेको छ ।
सबै राजनीतिक दलले महिलालाई उपप्रमुखमा उम्मेदवार बनाइरहेको बेला कुँवर नेकपा एमालेकातर्फबाट बुंगल नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी हुन् ।
बझाङमा गठबन्धनमा आवद्ध दल र अन्य दलले महिलालाई उपप्रमुखमा मात्र उठाएको बेलाआफू मेयरबाट उठ्नु पाउनु नै ठूलो कुरा भएको उनी बताउँछिन् ।
त्यसो त उनी चुनाव लडेको या पहिलो पल्ट होइन, उनी २०७४ को स्थानीय तह चुनावमा पनि बुंगलबाटै उपमेयरमा उम्मेदवार थिइन् । तर कुँवर नेपाली कांग्रेसकी मिनादेवी बोहरा जाग्रीसँग ७ सय ७१ मतले पराजित भइन् ।
कुँवरले बुंगलमा महिला शशक्तिकरण र उद्यमशिलताको अवधारणालाई अंगालेर बिजगडामा महिला शशक्तीकरण तथा वातावरण सुधार समाज नामक संस्था खोलेर समाज सेवा गरिहेकी उनी अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य, नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य र बुंगल नगरपालिका सहइञ्चार्जसमेत हुन् ।
मेयर उम्मेदवार बनेसँगै उनले प्रचारप्रसार पनि तिव्र पारेकी छिन् । उनी भन्छिन्, ‘हिंसारहित घर र समाज निर्माण गर्ने तथा अन्याय अत्याचारका वि?द्धमा मेरो अभियान हुने छ ।’
नगरलाई वातावरण मैत्री बनाउन विभिन्न खालका योजना बनाउने र नगरको समग्र विकास, विशेष गरी पिछडिएका वर्ग र महिलाहरुको उत्थानका लागि काम गर्न उम्मेदवारी दिएको उनी बताउँछिन् ।
बुंगलमा उनीसँगै सत्तारुढ गठबन्धनकातर्फबाट कांग्रेसका जयबहादुर धामी, राप्रपाका हर्कबहादुर सिंह र स्वतन्त्र नरेशबहादुर थापा मेयरको उम्मेदवार छन् ।
प्रतिक्रिया 4