
१६ वैशाख, काठमाडौं । रसुवाको गोसाईकुण्ड गाउँपालिकामा अध्यक्ष पदका प्रतिस्पर्धी तेन्जेन छेसाङ तामाङले एकाएक प्रतिस्पर्धा छाडेका छन् ।
माओवादी केन्द्रका तर्फबाट मनोनयन दर्ता गराएका उनी विहीबार पार्टी परित्याग गरेको घोषणाका साथ एमालेमा प्रवेश गरेका हुन् । उनले आफ्नो मनोनयन पनि फिर्ता लिने घोषणा गरेका छन् ।
तामाङ माओवादी केन्द्रको तर्फबाट गोसाईकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका थिए । उनले विहीबार विज्ञप्ति मार्फत पार्टी छाडेर एमालेमा प्रवेश गरेको र उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
उनको यो घोषणासँगै गोसाईकुण्डको अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट कोही पनि प्रतिस्पर्धी हुनेछैनन् । स्थानीय तह निर्वाचन ऐन २०७३ मा सम्बन्धित दल वा उम्मेदवारले चाहेमा मनोनयन फिर्ता हुने व्यवस्था छ । गोसाईकुण्डमा एमाले, कांग्रेस, एकीकृत समाजवादी, राप्रपा, स्वतन्त्र गरी ७ जनाले मनोनयन दर्ता गराएका थिए ।
प्रतिक्रिया 4