
१६ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गरी पार्टीको चुनावी कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् । पदमा बहाल रहेका घिमिरे नेकपा एमालेका चुनाव प्रचारका कार्यक्रममा सहभागी हुँदै आचारसंहिता उल्लंघन गरेका हुन् ।
घिमिरे बुधबार एमालेका उम्मेदवारहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रदेश अध्यक्ष लिला गिरी लगायतका नेताहरुले नगरपाकिलाका उम्मेदवारलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा मेयर बासुदेव घिमिरे पनि बोलेका थिए । मेयर घिमिरेले बिहीबार वडा नम्बर ४ को एमालेको निर्वाचन सम्पर्क कार्यालय उदघाटन गरेका छन् । निर्वाचन आयोगको आचारसंहिताको बुँदा ५ (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।
निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार बहालवाला जनप्रतिनिधि पार्टीको चुनाव प्रचारमा खटिन पाउँदैनन् । ‘बहालवाला प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षदेखि कार्यपालिका सदस्यसम्मले पार्टीका कार्यक्रममा सहभागी हुन मिल्दैन,’ भण्डारीले भने । घिमिरेले पदबाट राजीनामा दिएका छैनन् ।
घिमिरे तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा बहाल रहे पनि लगातार पार्टीको कार्यक्रममा सहभागी हुन थालेपछि उनको आलोचना हुन थालेको छ । तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्ने सामाजिक सञ्जाल फेसबुक पेजमा पनि एमाले उम्मेदवारको पक्षमा प्रचार सामग्री पोष्ट गरिएको छ । त्यसको आलोचना भएपछि अहिले भने नगरपालिकाले त्यसलाई हटाएको छ ।
नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डेले आचार संहिता उल्लंघन गर्नेमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया 4