१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आइतबार स्थानीय निर्वाचन २०७९ लक्षित घोषणापत्र सार्वजनिक गर्यो । ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन–२०७९’ शीर्षकको घोषणापत्र बनाउन कांग्रेसले पार्टी महामन्त्री गगन थापाको नेतृत्वमा एउटा समिति बनाएको थियो ।
८८ पृष्ठ लामो घोषणापत्रमा डेढ दर्जनभन्दा बढी पाना कांग्रेसले कम्युनिस्ट शक्तिको उछित्तो काढ्न खर्च गरेको छ । यो क्रममा कांग्रेसले प्रमुख प्रतिपक्षमा रहेको नेकपा (एमाले) मात्र होइन, सत्ता साझेदार नेकपा माओवादीलाई पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा गाली गरेको छ ।
संकल्पपत्रमा देशमा भएका अभूतपूर्व परिवर्तनपछि कम्युनिस्ट पार्टीले खेर फालेको ‘सुनौलो अवसर’ बारे विश्लेषण गरिएको छ । सामान्यतः घोषणापत्र दलको नीति तथा घोषणाको सार्वजनिक प्रतिबद्धता हो । तर यसलाई दलहरूले ‘गाली–पत्र’को रूपमा विकास गरिरहेका छन् ।
कांग्रेसमा सल्किएको कम्युनिस्ट ‘रोग’
कांग्रेसले सार्वजनिक गरेको चुनावी संकल्पमा यसअघि कम्युनिस्टले अभ्यास गर्ने गरेको ‘गाली राजनीति’को रोग सल्किएको देखिन्छ । कम्युनिस्टहरू आफ्नो हरेक दस्तावेजमा अरूको आलोचनाबाट सुरु गर्छन् । वर्ग दुश्मनहरू तोक्छन् र त्यसलाई पनि प्रमुख र सहायक दुश्मनमा विभाजित गर्छन् । पार्टीभित्र पनि फरक विचार राख्नेको आलोचना गर्न विभिन्न दार्शनिक सैद्धान्तिक मान्यताको सहारामा ‘कुतर्क’को खेती गर्छन् ।
यसपटक कांग्रेसले पनि यही शैली अनुसरण गरेको देखिन्छ । कम्युनिस्टहरूले आफू स्वयंको आलोचना, आत्मालोचना गरेका हुन्छन्, तर कांग्रेसले भने यसबीचको राजनीतिक गडबडीमा आफूलाई कहीं पनि दोषी देख्दैन । आफ्नो गल्ती औंल्याउने र सच्याउने आवश्यकता महसुस गरेको देखिंदैन ।
कम्युनिस्टलाई आलोचना गर्न सुरु गरिएको वक्तव्यबाजी ‘खेर गएको पाँच वर्ष’ उपशीर्षकबाट सुरु हुन्छ । यो पाँच वर्षमा उल्लेखनीय समय र तीन तहका विभिन्न संरचनामा नेपाली कांग्रेसले पनि नेतृत्व गरेको छ । कांग्रेसको संकल्पपत्रले कम्युनिस्टलाई आलोचना गर्न चोरऔंलो देखाइरहँदा बाँकी केही औंलाले ऊ स्वयंलाई कुरीकुरी गरिरहेको भान हुन्छ । किनकि यो पाँच वर्षमा भएका राम्रा नराम्रा दुवै कर्मको भाग नेपाली कांग्रेसले पनि लिनैपर्छ ।
संकल्पमा कम्युनिस्टको आलोचना गरिरहँदा यसलाई कांग्रेसले भविष्यमा अगाडि बढ्न विगतको ‘विवेकपूर्ण’ समीक्षा भन्न भुलेको छैन, तर अरूको समीक्षामा धेरै समय खर्चिरहँदा आत्मसमीक्षाका लागि भने यो दस्तावेजले कुनै जाँगर लगाएको देखिंदैन ।
२०६० को सेरोफेरोको समीक्षामा ‘लोकतान्त्रिक अधिकारहरू कुण्ठित र प्रतिबन्धित’ रहेको उल्लेख गरिरहँदा लोकतन्त्र दरबारमा बुझाउन कांग्रेस नेतृत्वबाट भएका कमजोरीको संकेत पनि छैन । ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को चरम हिंसाबाट देश भयभीत र आक्रान्त’ रहेको उल्लेख गरिरहँदा लोकतान्त्रिक गणतन्त्रका लागि माओवादीले पुर्याएको योगदानबारे मौन देखिन्छ । कांग्रेसको दृष्टिमा माओवादी एउटा यस्तो तथाकथित अछूत बनेको देखिन्छ, जसको भोट चल्छ तर पानी चल्दैन ।
संकल्पपत्रमा लेखिएको छ, ‘यसरी सात दशक यता भएका लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरू– लोकतन्त्र, गणतन्त्र, समावेशिता, सङ्घीयता लगायत नवीन विषय– संविधानमार्फत संस्थागत भए ।’ तर, गणतन्त्र, समावेशिता, संघीयता कांग्रेसको कहिले र कसरी माग बन्न पुग्यो ? यसबारे वास्तविकता बोल्ने हिम्मत संकल्पपत्रले गर्न सकेको छैन ।
केपी ओलीः जनउत्तेजनाको व्यापारी
घोषणापत्रमा कांग्रेसले नेकपा एमालेका नेता केपी ओलीलाई ‘जनउत्तेजनाको व्यापारी’को रूपमा चित्रित गरेको छ । ‘नेपाल कम्युनिस्ट पार्टीले सत्ता र शक्तिको केन्द्रीकरण गर्ने केपी शर्मा ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका खातिर आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लगायो’ संकल्पमा भनिएको छ, ‘फलस्वरूप, कम्युनिस्ट सरकारले मुलुकलाई बल्लबल्ल प्राप्त स्थिरताको लाभ लिनबाट फेरि एकचोटि वञ्चित मात्र गरेन, झन् भयङ्कर अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिम समेत बढाएर गयो ।’
नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल कांग्रेसले आफ्नो घोषणापत्रमा १७ पृष्ठ लगातार रूपमा एमालेका विरुद्ध विषवमन गर्न खर्च गरेको बताउँछन् । ‘आफ्नो घोषणापत्रमा सम्भवतः संसारको कुनै पनि पार्टीले अर्को पार्टीका बारेमा यति धेरै उल्लेख गर्दैन’ रिजाल भन्छन्, ‘एजेन्डा, कार्यक्रम र विचारहरू नभएपछि एमालेको विरोधमा मात्रै आफ्नो भविष्य देखेको पाइन्छ । घोषणापत्रमा एमालेको नाम २३ ठाउँमा छ ।’
घोषणापत्रमा आफ्ना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम ८ ठाउँमा उल्लेख गरेको कांग्रेसले एमालेका अध्यक्ष केपी ओलीको नाम ४२ ठाउँमा उल्लेख गरेको उनको टिप्पणी छ । उनको प्रश्न छ, ‘आफ्नो नेतृत्वप्रतिको विश्वास नभएको र एमालेको नेतृत्वप्रति आतंकित भएको यसभन्दा अर्को नमूना के खोज्नुपर्ला र ?’
गालीगलौजको अन्त्यहीन शृंखला
कांग्रेसको घोषणापत्रमा नेकपाको सरकारलाई अधिनायकवाद र सर्वसत्तावादको सूत्रपातको रूपमा चित्रित गरिएको छ । नेकपालाई संघीयताविरोधी एकात्मक र नियन्त्रणकारी सरकार भनिएको छ । संवैधानिक निकायको कम्युनिस्टकरण गरेको उल्लेख गरिएको छ । तर, यहीक्रममा कांग्रेस सभापति देउवाले संवैधानिक निकायमा भागबण्डा मागेको तथ्य संकल्पपत्रमा उल्लेख छैन । सार्वजनिक सम्पत्तिको लुट, भ्रष्टाचार र अनियमितताको बिम्वको रूपमा नेकपा सरकारलाई कांग्रेसको प्रतिबद्धतापत्रले चित्रित गरेको छ ।
नेकपा सरकारले भूमाफियाको स्वार्थअनुसार सांस्कृतिक अधिकार हनन् गरी गुठीको जमिन भूमाफियाकरण गरेको कांग्रेसको आरोप छ । कम्युनिस्ट सरकारको शासनमा महामारीमा समेत कमिशन र भ्रष्टाचार भएको भन्दै आलोचना गरिएको छ ।
‘एमाले स्वयं र माओवादी केन्द्र सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन्’ कांग्रेसको संकल्पमा प्रश्न गरिएको छ, ‘सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा (एमाले) को वैधानिक हैसियत माथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनुहोला ?’
कांग्रेसको दृष्टिमा माओवादी एउटा यस्तो तथाकथित अछूत बनेको देखिन्छ, जसको भोट चल्छ तर ‘पानी’ चल्दैन ।
कम्युनिस्टहरूको उत्ताउलो घोषणाको ‘विकास’ले ‘म्याजिक’ चाहने तर, कांग्रेस ‘लजिक’मा विश्वास गर्ने भएकोले जमिन टेक्ने विकास गर्ने कांग्रेस महामन्त्री गगन थापाको तर्क छ ।
यही निर्मम आलोचनाबारे प्रतिक्रिया दिंदै नेकपा एमालेका अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्रलाई ‘पागलहरूको प्रलाप’ भनिदिए । ‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लगाइएको छ’ ओलीको प्रश्न छ, ‘बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको ? पाइपलाइन किन चाहियो ? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ ?’
यो गालीको शृंखला अहिले पनि जारी छ । बुधबार कांग्रेसका महामन्त्री थापाले आफूहरूको घोषणापत्रले एमाले अध्यक्ष ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरे । ‘उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुहुन्छ’ उनले भने, ‘उहाँलाई आफ्नो प्रशंसाको एकालाप सुन्ने बानी भएको हो । एकपछि अर्को झुटको पर्दाफास गरेपछि उहाँले सहन सक्नुभएन ।’
कृतघ्न कम्युनिस्ट, कृतघ्न कांग्रेस
नेपालमा राजनीतिक दलहरू स्वार्थ मिलेका बेला सहकार्य गर्छन् । तर, जब सत्ता स्वार्थ बाझिन्छ, उनीहरू एकले अर्कोलाई अराजनीतिक तहमा ओर्लिएर गाली गर्न थाल्छन् । यसमा कम्युनिस्टदेखि कांग्रेससम्म उस्तैउस्तै देखिएका छन् ।
‘ कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुन् । यस अर्थमा आलोचना, विरोध र खण्डन अन्यथा मान्नुपर्दैन । तर, कांग्रेसले घोषणापत्रमा एमाले र अध्यक्ष ओलीका बारेमा जे–जस्तो शब्द प्रयोग गरेको छ, यो शिष्टताका हिसाबले पनि असान्दर्भिक, उत्तेजक र अतिवादीहरूको हातमा पुगेछ भन्ने देखिन्छ’, एमाले नेता रिजाल बताउँछन् । यद्यपि, फरक मत राख्नेहरूमाथि एमाले अध्यक्ष ओलीले प्रयोग गर्ने भाषा र शब्दावलीप्रति उनी मौन देखिन्छन् ।
स्वार्थ मिलेका बेला दलहरू सहकार्य हुँदै पार्टी एकतासम्म गर्छन् । सार्वजनिक मञ्चमा एकले अर्कोको प्रशंसामा शब्द र समय खर्चिन्छन् । तर, जब सहकार्य टुट्छ, एकअर्काप्रति तितो पोख्न सुरु भइहाल्छ । दलका नेताहरू नै एकअर्काप्रति यो स्तरको गालीगलौज र असहिष्णु अभिव्यक्ति दिन्छन् भने कार्यकर्ता तहमा हुने प्रतिस्पर्धाले कस्तो रूप लेला ?
‘अरूको मृत्युमा आफ्नो जीवन देख्ने’ र ‘अरूलाई होचो बनाएर आफू अग्लिने’ कृतघ्न रहर दलहरूको दस्तावेजदेखि दैनन्दिनको अभ्यासमा बढिरहेको देखिन्छ । यो समस्याबाट कम्युनिस्ट नेतादेखि कांग्रेसका गगन थापासम्म मुक्त हुनसकेका छैनन् ।
प्रतिक्रिया 4