
काठमाडौं । कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को प्रभाव मत्थर नहुँदै शुक्रबारबाट नेपाली बक्स अफिसमा चार नयाँ फिल्म रिलिज भएका छन् ।
जसमा सौगात मल्ल र दीया पुन स्टारर फिल्म ‘मन्त्र’, अजय देवगण र अमिताभ बच्चन स्टारर बलिउड फिल्म ‘रनवे ३४’, बलिउडकै टाइगर श्राफ र नवाजुद्दिन सिद्दिकी अभिनित ‘हिरोपन्ती २’ र हलिउडको ‘ब्याड गाइज’ छन् ।
अलग जनराका फिल्ममा रुचि राख्ने दर्शकमाझ आ–आफ्नो स्वादका फिल्म हेर्ने सुविधा दर्शकलाई छ । दक्षिण भारतीय फिल्म ‘केजीएफ–’को प्रभाव कायमै छ ।
सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको ‘मन्त्र’लाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा छायांकन गरिएको फिल्मले भगाएर विवाह गर्ने हिमाली क्षेत्रको परम्पराको कथा भन्छ । फिल्मको लम्बाइ २ घण्टा छ ।
अजय देवगणकै निर्देशन रहेको २ घण्टा २१ मिनेट लामो ‘रनवे ३४’मा अजयसहित अमिताभ बच्चन र रकुल प्रीत सिंहको मुख्य भूमिका छ । फिल्ममा अजयले एक सन्काहा पाइलटको भूमिका निर्वाह गरेका छन् ।
रनवेमा बम राखिएको हल्लापछि कसरी पाइलटले डेढ सय यात्रुको ज्यान जोगाउँछ भन्ने कथा यसमा छ ।
एक्सन रोमान्स जनरामा बनेको टाइगर श्राफ, नवाजुद्दिन सिद्दिकी र तारा सुतरिया अभिनित ‘हिरोपन्ती २’लाई एक्सन फिल्ममा रुचि राख्ने दर्शकले रुचाउन सक्छन् । अहमद खान निर्देशित फिल्म एक मिसनको कथा हो ।
एनिमेसन, एड्भेन्चर र कमेडी जनराको हलिउड फिल्म ‘द ब्याड गाइज’लाई पिएरे पेरिफिलले निर्देशन गरेका हुन् । खुंखार जनावरहरु राम्रो बन्ने प्रयास गर्दा हुने गल्तीलाई यसले चित्रण गरेको छ ।
यसअघि रिलिज भएका फिल्म ‘ए मेरो हजुर ४’, ‘आरआरआर’ र ‘फ्यान्टास्टिक बिट्स’ पनि अहिले प्रदर्शन भइरहेका छन् ।
प्रतिक्रिया 4