
१६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पूर्व पार्टी नेकपा एमाले सबै हिसाबले बिग्रिएपछि नयाँ पार्टी गठन गरेको टिप्पणी गरेका छन् ।
शुक्रबार पार्टी कार्यालयमा आयोजित पार्टी एकता कार्यक्रममा नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न एकीकृत समाजवादी बनाएको दाबी गरे।
‘पुरानो पार्टी सबै हिसाबले कुहिने अवस्थामा पुग्यो,’ उनको भनाइ छ, ‘दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको अत्यन्तै दलदलमा फस्ने र सबै हिसाबले कम्युनिष्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगिसकेपछि हामीले कम्युनिष्ट सिद्धान्तको रक्षा गर्न, आन्दोलनलाई जोगाउन, क्रान्तिकारी भावनालाई जोगाउँदै आगाडि बढ्न हामीले एकीकृत समाजवादीको निर्माण गरेका हौं ।’
नेपालले नामले एकीकृत समाजवादी नयाँ पार्टी भए पनि इतिहासका हिसाबले २००६ सालदेखिकै विरासत बोक्ने समेत नेता नेपालले बताए । ‘नामको हिसाबले हामी नयाँ हौं तर इतिहासको हिसाबले २००६ सालको देखिको निरन्तरता पनि हो,’ उनको जिकिर छ, ‘पुष्पलाको पार्टी र उहाँको विरासत हामीले बोकेका छौं । कम्युनिष्ट आन्दोलनको झण्डा हामीले बोकेका छौं । पुरा योद्धाहरु हामीसँग हुनुहुन्छ । यसमा हामीमा गौरव बोध पनि छ ।’
पार्टी गठनको आठ महिना मात्रै भए पनि ठूलो सफलता हासिल गरेको नेपालको दाबी छ। ‘यो निर्माण गरेको आठ महिना भएको छ,’ उनले भने, ‘यो निर्माण भएको आठ महिना भित्र हामीले धेरै ठूलो सफलता हासिल गरेका छौं ।’
प्रतिक्रिया 4