
१६ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन् ।
माओवादीले मेयर र समाजवादीले उपमेयर लिने गरी चुनावी तालमेल गर्ने भएको हो । अब माओवादीबाट मेयरमा प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् ।
दुवै पार्टीले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका थिए । तर शुक्रबार माओवादीले उपमेयरको उम्मेदवार र समाजवादीले मेयरको उम्मेदवार फिर्ता बोलाएर चुनावी तालमेलको निर्णय गरेका हुन् ।
माओवादी केन्द्रबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएकी सुमित्रा श्रेष्ठ र नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी रमा पौडेलले शुक्रबार एकैसाथ उम्मेदवारी फिर्ता लिएका छन् ।
लालबन्दीमा यी दुई पार्टीबीच मनोनयन दर्ता अघि नै चुनावी तालमेलबारे बारम्बार छलफल भएपनि कुनै सहमती हुन सकेको थिएन । अन्तिम समयमा आएर दुवै पार्टीका नेताहरुले मेयर र उपमेयरमा चुनावी तालमेलको निर्णय गरेका हुन् ।
माओवादी र समाजवादीबीचको तालमेलपछि लालबन्दीमा चुनावी प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने भएको छ ।
लालबन्दीमा नेपाली कांग्रेसले मेयरमा बासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रीन तथा नेकपा एमालेले मेयरमा गोविन्द महत र उपमेयरमा सनसरिमाया थिङलाई उठाएको छ ।
प्रतिक्रिया 4