
१६ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएका ४९ जनाले मनोनयन फिर्ता लिएका छन् ।
मेयर पदका तीन जना, उपमेयरका दुई जनासहति ४९ जनाले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
मेयरमा उम्मेदवारी दिएका जसपाकी दीपा लामा, नेपालका लागि नेपाली अभियानका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार सुरक्षा रिजालले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उपमेयरमा नेकपा समाजवादीकी मखकुमारी तिमल्सिना र जसपाका हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उम्मेदवारी फिर्ता लिनेहरुमा अरु वडा अध्यक्ष र सदस्य पदका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका शंखर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामासहितको टोली पालिकामा पुगेर उम्मेदवारी फिर्ता लिन पहल गरेका थिए । सबैको साझा चाहनामा उम्मेदवारी फिर्ता लिएको उनले बताए ।
प्रतिक्रिया 4